लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेले दिए राजीनामा

तु खबर संवाददाता
२०७८ श्रावण २७,बुधबार ०७:५६

लुम्बिनी । जसपाको कोटामा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।

सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

गत वैशाखमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेय सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै जसपाले सांसद पदबाट हटाएको थियो ।
पाण्डेले मन्त्री पदबाट राजीनामा दिएको भएपनि विजय यादव र कल्पना पाण्डेय भने सरकारमै छन् ।

लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद थिए । पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम छन् ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक पनि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवासको प्रस्ताव दर्ता गराएका थिए ।