बागमतीमा आत्महत्याका घटनामा वृद्धि, कुन जिल्लामा कति ?
मकवानपुर । बागमती प्रदेशमा आत्महत्याका घटनामा वृद्धि आएको छ । प्रदेशमा विगतका आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा आत्महत्या गर्नेको सङ्ख्यामा १० दशमलव ८० प्रतिशतले वृद्धि भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कूल ९ सय ३५ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ३६ जनाले आत्महत्या गरेका थिए ।
प्रदेशमा विष सेवन, भुण्डिएर, हाम फालेर र अन्य केही माध्यमको प्रयोग गरी आत्महत्या हुने गरेको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रदेशको १३ वटा जिल्लामध्ये चितवनमा सबैभन्दा बढी व्यक्तिहरूले आत्महत्या गरेका छन् । त्यहाँ गत आर्थिक वर्ष २०७७/७८ मा २ सय १९ जनाले आत्महत्या गरेका छन् । चितवनमा विगतका आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७९ जनाले आत्महत्या गरेका थिए ।
प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा मकवानपुरका १ सय ४० जना, सिन्धुलीका ६२ जना, रामेछापका ६५ जना, दोलखाका ७० जना, काभ्रेका १ सय ३६ जना, सिन्धुपाल्चोकका १ सय १० जना, नुवाकोटका ८६ जना, धादिङका १ जना ४२ र रसुवाका ६ जनाले विभिन्न माध्यमको प्रयोग गरी आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
त्यस्तै, विगतका आर्थिक वर्ष २०७६/०७७ मा भने मकवानपुरमा १ सय ४६ जना, सिन्धुली ८१ जना, रामेछापका ५० जना, दोलखाका ५८ जना, काभ्रेका १ सय ३६ जना, सिन्धुपाल्चोक १ सय १५ जना, नुवाकोटका ६५ जना, धादिङका ९७ जना र रसुवाको ८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
