सडक डिभिजन कार्यालय हेटौंडाद्वारा आठ वटा पक्की पुल निर्माण

तु खबर संवाददाता
२०७८ श्रावण २६, मंगलवार १५:५०

मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा आठ वटा पक्की पुन निर्माण गरेको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा गरी आठ वटा पक्की पुल निर्माण गरेको हो ।

कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण गरेर सञ्चालनमा ल्याएको जानकारी दिए ।

साथै सङ्घीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमा नै ३२.३६ किलोमिटर सडक कालोपत्र, १९.१० किमी सडक ग्राभेल र कूल ३७.३५ किमी सडक मर्मत गरेको कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

राजमार्ग स्तरोन्नती तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २०.६५ किलोमिटर र रणनीतिक सडक मर्मतसम्भार सडक बोर्डअन्तर्गत १६.७० किलोमिटर सडक मर्मत गरिएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले जानकारी दिए ।

कार्यालयको गत आव २०७७÷७८ मा संशोधित बजेट रु एक अर्ब ७० करोड रहेकामा रु एक अर्ब १६ करोड उपरोक्त पूर्वाधार विकास निर्माणमा खर्च भएको उनले बताए ।