राक्सिराङका २९३ घर खरको छानामुक्त

पत्रपत्रिका
२०७८ श्रावण २६, मंगलवार ०७:५०

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकालाई खरको छानामुक्त गर्ने अभियान सञ्चालन भैरहेको छ । जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकाका अधिकांश घरका छानाहरु खरले छाएका छन् । विपन्न आम्दानीको स्रोत नभएका कारण खरको छानोमा जीवन बिताउन बाध्य हुनुपरेको स्थानीयहरुले गुनासो गर्दै आइरहेका अवस्थामा गाउँपालिकाले खरको छानो मुक्त अभियानमार्फत दर्जनौं परिवारको खरको छानोबाट पानी चुहिने समस्याको हल गरिरहेको छ ।

संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझा अनुदान कार्यक्रममार्फत् पालिकाभित्रका २ सय ९३ घरमा खरको छानो मुक्त गरेर जस्ता लगाइएको पालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । सरकारले खरको छानामुक्त सुरक्षित आवास कार्यक्रम ल्याएसँगै राक्सिराङ पालिकाले अभियान सुरु गरेको हो। संघीय सरकारको ८६ लाख ५० हजार, प्रदेश सरकारको २५ लाख र पालिकाको २५ लाख बजेटअन्तर्गत् बरको छानामुक्त अभियान थालिएको लिका अध्यक्ष मल्लले जानकारी गराए ।

संघीय सरकारले उपलब्ध गराएको रकम ५० हजार रुपैंयाको दरले १ सय ६८ घरपरिवारलाई वितरण गरिएको थियो । त्यस्तै प्रदेश सरकारका तर्फबाट २५ लाख र स्थानीय सरकारका तर्फबाट २५ लाख गरी कुल उपलब्ध ५० लाख रुपैया मार्फत् १ सय २५ घरधुरीलाई ४० हजार रुपैंयाको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो।

संघीय सरकारमार्फत् प्राप्त हुने ५० हजार रुपैयाँको अनुदानका लागि १ सय ७३ खरका छाना भएका घर स्वीकृत भएकोमा १ सय ६८ घरमा मात्र जस्ताको छानो लागइएको पाइएको छ । बाँकी ५ घरका नागरिकले समयमा खरको छानो हटाउन नसक्दा अनुदान रकम उपलब्ध गराउन नसकिएको पालिका कार्यालयले जनाएको छ।

संघीय सरकारले उपलब्ध गराएको रकम निकासाका लागि गाउँपालिकामा घरको लालपुर्जा भएकालाई मात्र रकम दिने भएको हुँदा गाउँपालिकाले ४० वर्षदेखि गाउँमा बसोवास गर्दै आएकाका लागि सिफारिस बञ्चित नगर्ने गरी दुई पुस्ता गइसकेकाहरु तर, लालपुर्जा नभएकालाई पनि खरको छानामुक्त गराउन पालिकाले २५ लाख विनियोजन गरेर वितरण गरिएको अध्यक्ष मल्लले बताए ।

अध्यक्ष मल्लका अनुसार जो गरिब र असहाय छन्, उनीहरुलाई भन् स्थानीय सरकारको साथ चाहिने भन्दै स्थानीय सरकारको पहलमा पुर्जा नभएका आफ्ना पालिकाका स्थानीय नागरिकका लागि खरको छानामुक्त गर्न सहयोग गरिएको हो । पहिलो प्राथमिकता अपांग, एकल महिला र दोस्रो प्राथमिकतामा विपन्न वर्गलाई लक्षित गरेर वितरण रकम वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले खरको छाना बनाउने स्थानीयहरुको हकमा अध्यक्षकै निगरानी तथा अनुगमनमा रकम निकासा गरिएको जनाएको छ । पालिकाका वडा कार्यालयले खरको छाना भएका घरहरुको सिफारिस गरेर गाउँपालिका पूर्वाधार विकास छनौट समितिमा पठाएको र छनौट समितिले छनौट गरी वितरण कार्यलाई अघि बढाइएको थियो ।

सरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घरको छनौट भएर नागरिक लावान्भित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सुविधा लिएका छन् । ३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लावान्भित भएको गाउँपालिको तथ्यांक छ ।

त्यस्तै संघीय सरकार अन्तर्गतको खरको छानो मुक्त बागमती प्रदेश कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा गरी १ सय ६८ लाभान्वित भएका छन् । बाँकी रहेका खरका छानाहरु पनि चालु आर्थिक वर्ष २०७८/०७९ मा पनि यो कार्यक्रमलाई निरन्तरता दिँदै खरको छानामुक्त पालिका घोषित गर्ने जनाइएको छ । उक्त गाउँ पालिका जिल्लाकै सबैभन्दा धेरै चेपाङ समुदायका मानिसको बसोबास रहेको पालिका भनेर जिल्लामा परिचित पनि छ । यो समाचार हेटौंडा सन्देश दैनिकमा छ ।