कोभिसिल्डको पहिलो मात्रा लगाएका मकवानपुरका नागरिकलाई अब एस्ट्राजेनेका खोप लगाइने

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार ०७:५३

मकवानपुर । कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका मकवानपुरका करिब १७ हजार जना दोस्रो डोज खोपको पर्खाइमा छन् ।

शरिरमा खोपको मात्रा पुरा हुन दुवै डोज लगाउनुपर्ने चिकित्सकहरु बताउँछन् । तर, खोप अभाव हुँदा उनीहरुले दोस्रो डोज लगाउन नपाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले कोभिसिल्ड खोपको पहिलो डोज लगाएका नागरिकलाई जापानबाट भर्खरै नेपालमा आएको एस्ट्राजेनेका खोप दोस्रो डोजको रुपमा लगाउने पहल भइरहेको जनाएको छ ।

कार्यालयले एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई लगाउन मिल्ने बताएको छ ।

उक्त खोप मकवानपुरमा आइपुगेको भने छैन । खोप आउनासाथ मकवानपुरका सबै विभिन्न स्थानीय तहमा तहमा वितरण गरेर लगाउन सुरु गरिने जनाइएको छ ।
देशैभरीमा भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।

खोप लगाउनका लागि काठमाण्डौंमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा पनि सम्बन्धित पालिकाहरुले खोप केन्द्र तोकेका छन् । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।