हेटौंडा अस्पतालमा सुविधा थपिँदै

पत्रपत्रिका
२०७८ श्रावण १९, मंगलवार ०७:३८

मकवानपुर । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौडा अस्पताललाई एकपछि अर्को सुबिधा थपिदै गएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पतालको भौतिक संरचना निर्माणको कामसंगै स्वास्थ्य सेवाहरु पनि थप गरिएको हो। संघीय सरकारको लगानीमा अस्पतालको नयाँ भवन निर्माण भइसकेको छ । त्यसमा रंग लगाउने र भित्री फिनिसिङको काम मात्र बाँकी छ। यसलाई केही हप्तामा नै प्रयोगमा ल्याउनेगरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठालले योजना बनाएको छ।

अस्पतालको स्तरवृद्धी गर्दा अझै सेवा सुविधाहरु थप गर्नुपर्ने भएकाले यसका लागि अस्पतालको नयाँ भवन निर्माण गर्न लागिएको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले अस्पतालको भवनको शिलान्यास गर्ने तयारी गरिसकेको छ।

कुल २२ करोड ८६ लाख रुपैयाँ लागतमा पाँच तले भवन निर्माणका लागि निर्माण कम्पनीसंग सम्झौताको काम सकिएको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका सिनियर डिभिजन इञ्जिनियर राजेशकुमार पौडेलले जानकारी दिए । कार्यालयले गत असार १८ गते नै विकेओआइ र नवश्रीजनशिल निर्माण कम्पनीसंग ठेक्काको सम्झौता गरिसकेको उनले बताए।

अस्पतालमा तीनवटा ब्लक निर्माण हुनेछन् । त्यसमध्येमा एउटा ब्लकमा पार्किङका लागि अण्डर ग्राउण्डसमेत निर्माण गरिएको पौडेलले बताए । निर्माण कम्पनीले २०८० पुस १६ गते अस्पताल निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । यो भवनसमेत निर्माण भएपछि हेटौंडा अस्पतालमा तीनसय बेड़ क्षमताको पुर्याउने प्रदेश सरकारको लक्ष्यलाई थप सहयोग पुग्ने बताईएको छ । अहिले भौतिक संरचना अभाबका कारण निकै समस्या ब्यहोरे पनि भवन निमार्णपछि सहज हुने अपेक्षा अस्पतालको छ । यो समाचार हेटौँडा सन्देश दैनिकमा छ ।