बागमती प्रदेश सरकारले थप ८ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको ८ वटा जिल्ला अस्पतालमा बृहत अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई मध्येनजर गर्दै ८ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्ने भएको हो ।
मन्त्रालयले प्रदेशको १३ जिल्ला अस्पतालमध्ये धादिङ, काभ्रे, रसुवा, रामेछाप, दोलखा, ललितपुर, काठमाडौं र चितवन जिल्ला अस्पतालमा कोभिड संक्रमण रोगीका उपचार सेवालाई प्राबकारी बनाउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
अक्सिजन प्लान्ट जडान गर्नको लागि बोलपत्र आह्वान भई करिब रु ५ करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरिद गरी ल्याउने कार्य भइरहेको र केही दिनभित्रै अक्सिजन प्यान्ट जडान गरिने बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका प्रमुख डा. बसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार, यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशुली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले अक्सिजन प्लान्ट जडान गरिसकिएको छ ।
संघीय तथा प्रदेश सरकारको मातहतमा रहेका सबै अस्पतालहरुमा कोभिड महामारीको संकट फैलन सक्ने सम्भाव्यतालाई अध्ययन गरी प्रत्येक अस्पतालमा अक्सिजन सिलिण्डरको जर्गेना गर्ने मन्त्रालयका प्रवक्ता डा. सेढाईले जानकारी दिए । उनले प्रदेशमा आवश्यकीय दक्ष चिकित्सक, स्वास्थ्यकर्मीको दरबन्दी उपलब्ध गराइसकिएको र थप गर्नुपरेमा प्रदेश स्वास्थ्य निर्देशनालयको चिकित्सकहरुको टोली अनुगमन गरी आएको सिफारिस अनुसार दरबन्दी उपलब्ध गर्ने भएको बताए ।
