दार्चुला घटना : छानविन समितिको प्रतिवेदन अनुसार निर्णय लिने
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन अनुसार नै सरकारले आवश्यक निर्णय लिने बताएका छन् । गृहमन्त्री खाँणले सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन ।
उनले उक्त घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी दिदैँ छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताएका हुन् । उनले छानविन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने पनि बताए ।
उनले गत साउन १५ गते व्यास गाउँपालिका वडा नं.२ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उनले जानकारी दिए ।
यस्तै मन्त्रालयले मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा हिजो आइतबार छानविन समिति गठन गरेको थियो । मन्त्रालयले गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।
