कर्णाली डुंगा दुर्घटना अपडेट : एक महिलाको शव फेला

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार १५:४४

सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका इन्चार्ज राजेन्द्रबहादुर कुमालका अनुसार, कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिलासहित तीन जना बेपत्ता भएका थिए । तीमध्ये हाल एक जना महिलाको शव फेला परेको हो ।

उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । १० जना सवार रहेको डुंगा पल्टिँदा दुई जना घाइते भएको, पाँच जनाको सकुशल उद्धार गरिए र तीन जना बेपत्ता भएका थिए ।

हाल घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले बेपत्ता भकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।