कर्णालीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता
कर्णाली । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् ।
वेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा रहेका छन् ।
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर–३ बाट नदी पार गरी सुर्खेतको चौकुने गाउँपालिका–४ मा कोरोनाविरुद्धको खोप लगाउनका लागि जाने क्रममा उनीहरु चढेको डुंगा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
१० जना सवार रहेको उक्त डुंगा दुर्घटना हुँदा दुई जना घाइते भएको र पाँच जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोहन्याल–३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । कर्णको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ ।
