‘मतियारलाई बेलैमा चिन्न नसक्दा पार्टी डेड्लक’

तु खबर संवाददाता
२०७८ श्रावण १६, शनिबार ०७:४१

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुर अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले प्रतिगामी र प्रतिगामीका मतियारलाई बेलैमा चिन्न नसक्दा ३ वर्षसम्म पार्टी डेड्लक भएको बताएका छन् ।

पार्टीको मकवानपुरगढी गाउँपालिका–३, मकाञ्चुलीमा स्थापना गरिएको पार्टी कार्यालयको उद्घाटन गर्दै उनले बिचौलिया र नवधनाढ्यबाद, सामन्तबादी अवशेषसहितका मानिसहरु पार्टीभित्र छिर्दा सिंगो नेकपा बन्न नसकेको बताएका हुन् ।

उनले एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न भने पहल भइरहने बताए । ध्वस्त हुँदै गरेको संविधानलाई बचाएर ठूलो उपलब्धी हासिल गरिएको भन्दै उनले यसले जनतामा उत्साह थपेको बताए।
,
नेकपा माओवादी केन्द्र गढी गाउँ कमिटीलाई सुदृढ र व्यवस्थित बनाएर लैजान पार्टी कार्यालय स्थापना गरिएको माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा गढी गाउँपालिका इञ्चार्ज मानकुमारी पाखिनले बताइन् । हरेक वडामा संगठन बिस्तार गर्दै पार्टी सदस्यता अद्यावधिक गरिने पाखिनले बताइन् ।

माओवादी केन्द्र गढी गाउँ कमिटी अध्यक्ष राजकुमार खड्काको सभाध्यक्षतामा भएको अन्तक्रियामा जिसस चन्द्र बहादुर योजन, कृष्णप्रसाद घिमिरेलगायत गाउँ पालिकाका नेकपा माओवादी केन्द्रका नेता÷कार्यकर्ताको उपस्थिति थियो ।