मन्त्रिपरिषद बैठक : प्रदेश प्रमुख हेरफेरदेखि योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १८:४५

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख हेरफेरदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख हेरफेरदेखि योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बैठकले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई र गण्डकी प्रदेशकी प्रदेश प्रमुख सिता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

यसैगरी सो बैठकले नेपाली सेनाको वरिष्ठ अधिकृत रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २६ गते देखि लागू हुने गरी कायम मुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

यस्तै, मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्वनाथ पौडेल र सदस्यहरुमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।