बागमती प्रदेशमा आत्महत्या गर्नेको संख्या १०.८० प्रतिशतले बढ्यो

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १६:५०

मकवानपुर । बागमती प्रदेशमा विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको छ ।

अघिल्लो आर्थिक बर्ष ०७६/०७७ को तुलनामा गत आर्थिक बर्ष ०७७/७८ मा आत्महत्या गर्नेको संख्या १०.८० प्रतिशतले बृद्धि भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आब ०७६/७७ मा बागमती प्रदेशभरी कूल ९ सय ३५ जनाले आत्महत्या गरेका थिए भने आब ०७७/७८ मा १ हजार ३६ जनाले आत्महत्या गरेका छन् ।

आब ०७६/७७ मा विष सेवन गरेर २ सय २२, झुण्डिएर ६९७, पानी वा भीरमा हाम फालेर १२ र हात हतियारजन्य औजारको प्रयोग गरी ४ जनाले आत्महत्या गरेका थिए भने आब ०७७/७८ मा बिष सेवन गरेर २४३, आफ्नै ज्यानमा आगो लगाएर २, झुण्डिएर ७७७, पानी वा भीरबाट हाम फालेर १२ र करेण्ट लगाएर २ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

जिल्लागत रुपमा हेर्ने हो भने आब ०७७/७८ मा चितवनका २१९, मकवानपुरका १४०, सिन्धुलीका ६२, रामेछापका ६५, दोलखाका ७०, काभ्रेका १३६, सिन्धुपाल्चोकका ११०, नुवाकोटका ८६ धादिङका १४२ र रसुवाका ६ जनाले विभिन्न तरिकाले आत्महत्या गरेको प्रहरीले उल्लेख गरेको छ ।

बागमती प्रदेशमा आब ०७६/७७ को तुलनामा आब ०७७/७८ मा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धा भने कम दर्ता भएका छन् ।

अघिल्लो आबमा चितवनमा ७, दोलखामा २, काभ्रेमा ३, सिन्धुपाल्चोकमा १, नुवाकोटमा १ र धादिङमा १ गरी कुल १५ वटा मुद्धा दर्ता भएको थियो भने गत आब ०७७/७८ मा चितवनमा ३, सिन्धुलीमा ३, रामेछापमा १, सिन्धुपाल्चोकमा ४, नुवाकोटमा १ र धादिङमा ३ गरी कूल १४ वटा मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय बागतमी प्रदेश हेटौंडाका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।