राजेन्द्र महतोको आरोप : निर्वाचन आयोगले जसपा फुटायो

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १५:३३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।

महतोले आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको आरोप लगाएका हुन् ।

आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जना मात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो ।’

पार्टीमा आधिकारिकताका लागि यतिबेला निर्वाचन आयोगमा पार्टीका कार्यकारिणी सदस्यहरुको सनाखत चलिरहेको छ ।

कार्यकारिणी समितिका बहुमत सदस्यहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेको सो पक्षले दाबी गरेको छ ।

यसबारे निर्वाचन आयोगको आधिकारिक फैसला आउन बाँकी रहेको छ ।