अख्तियार हेटौंडामा साउन महिनामा मात्रै ६१ वटा भ्रष्टाचारका उजुरी

तु खबर संवाददाता
२०७८ श्रावण ११, सोमबार ११:२१

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयमा चालु आर्थिक बर्ष ०७८/७९ को साउन महिनामा मात्रै ६१ वटा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।

साउन १ गतेदेखि १० गतेसम्ममा इमलेमार्फत् १०, पोष्टलमार्फत ८ र लिखित ४१ गरी कूल ६१ वटा उजुरी दर्ता भएको हो ।

दर्ता भएका उजुरीमध्ये अधिकांश स्थानीय तहको भ्रष्टाचार र अनियमिततासंग सम्बन्धित रहेको जनाइएको छ ।

गत बैशाख, जेठ र असार महिनामा भने एउटा पनि उजुरी दर्ता नभएको कार्यालयले उल्लेख गरेको छ ।

गत आर्थिक बर्ष ०७७/७८ मा भने अख्तियारको हेटौंडास्थित कार्यालयमा दर्ता भएका ९ सय २९ वटा उजुरी मध्ये ५ सय १६ वटा फच्र्यौट भइसकेको छ । यो कूल दर्ता भएको उजुरीको ५५ दशमलव ५४ प्रतिशत हुन आउँछ ।

त्यस्तै ४ सय १३ वटा अर्थात ४४ दशमलव ४६ प्रतिशत उजुरीमाथि अनुसन्धान भइरहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहका भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरी ५ सय १८ वटा रहेको छ ।

जसमध्ये २ सय ६७ वटा उजुरीको फच्यौट भइसकेको र अब २ सय ५१ वटा बाँकी रहेका छन् ।

अख्तियारको हेटौंडा कार्यालयमा परेका उजुरी मध्ये क्रमश रौतहटको ११, बाराको ३ सय ४, पर्साको १ सय ९६, दोलखाको १७, सिन्धुपाल्चोक को ८, रसुवाको २, धादिङको २७, नुवाकोटको ५, काठमाण्डांैको २, भक्तपुरको १, काभ्रेपलान्चोकको ९, रामेछापकोे २९, मकवानपुरको २ सय २०, धनुषाको १ र चितवन जिल्लाको ९७ वटा उजुरी छन् ।