बागमती प्रदेशमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी

तु खबर संवाददाता
२०७८ श्रावण १०,आईतवार १६:०३
file-photo

मकवानपुर । बागमती प्रदेशमा चालू आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष भन्दा माथि उमेर समूहका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले प्रदेशका १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने बताएका हुन् ।

मन्त्री फुयालले यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको जानकारी दिए ।

यस्तै, लिच्छवि र मल्लकालीन सम्पदा पुनः निर्माणका लागि नेपाली मौलिकता र सांस्कृति झल्किने गरी पुनःनिर्माण गर्न प्राविधिकलाई निर्देशन दिइसकिएको र चालू आवको दोस्रो चौमासिकभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

चालू आर्थिक वर्षभित्रै थप कूल एक हजार ४८८ हेक्टर जमीनमा नयाँ सिँचाइ आयोजना निर्माण गरी पानी उपलब्ध गराउने लक्ष्यअनुरुप बजेट विनियोजन गरिसकिएको जानकारी दिँदै मन्त्री फुयाँलले चितवनको नारायणीमा लिफ्ट सिँचाइ आयोजनाको पम्प हाउस ‘ए’ लाई आधुनिकीकरण गर्न बजेट विनियोजन गरी काम थालिएको चर्चा गरे ।

प्रदेशको सबै जिल्लामा भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक क्षमता अभिबृद्धि गरिने, काठमाडौँको चन्द्रज्योति, फर्पिङ र सुन्दरीजल जलविद्युत् गृह संरक्षण गरी नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा यस मन्त्रालयमा उच्चस्तरीय विज्ञहरुलाई अध्ययन, अनुसन्धानका लागि छुटृै महाशाखा स्थापना गरिने उनले बताए ।

मन्त्री फुयालले प्रदेशभित्र पूर्ण उज्यालो कार्यक्रमअन्तर्गत दोलखा, रसुवा र नुवाकोटमा वैकल्पिक ऊर्जा प्रविधि जडानका लागि काम भइरहेको स्पष्ट पारे ।