बागमती प्रदेशमा सवारी दुर्घटनामा परी ३४९ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ९,शनिबार ०९:४७

मकवानपुर । बागमती प्रदेशमा विगतका वर्षहरु भन्दा गत आर्थिक वर्ष २०७७/०७८ मा सडक दुर्घटना बढेको छ । सडकको क्षमताभन्दा बढी गतिमा सवारी कुदाएका कारण दुर्घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरी हेटौँडाका अनुसार, प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटनामा परी ३ सय ४९ जनाको मृत्यु भएको छ । प्रदेशमा गत आर्थिक वर्षमा १ हजार ५ सय १२ सवारीसाधन दुर्घटना हुँदा ३ सय ४९ को मृत्यु भएको हो । जसमा सबैभन्दा बढी मोटरसाइलक दुर्घटना १ हजार २८ वटा भएका छन् ।

प्रदेशमा गत आर्थिक वर्षमा ९१ प्रतिशत दुर्घटना बढ्दा मृत्युमा भने १४ प्रतिशतले घटेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ७ सय ९३ दुर्घटनामा ४ सय ७ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षभन्दा गत आवमा ७ सय १९ दुर्घटना बढेका छन् । मृतकको संख्या भने ५८ ले घटेको छ ।

गत आर्थिक वर्षमा प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुर बाहेका १० वटा जिल्लाको तथ्याङ्गक हर्ने हो भने सबैभन्दा बढी दुर्घटना हुने जिल्ला चितवन रहेको छ । चितवनमा ४ सय ३७ वटा दुर्घटना हुँदा १ सय २८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, मकवानपुरमा २ सय ५७ वटा दुर्घटना हुँदा ६० जना, धादिङमा २ सय ५५ वटा दुर्घटना हुँदा ५७ जना, सिन्धुलीमा २ सय २१ दुर्घटना हुँदा ३७ जना र काभ्रेमा १ सय ३४ वटा दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोलखामा ४० वटा दुर्घटना हुँदा १२ जना, नुवाकोटमा ७० वटा सवारी दुर्घटना हुँदा १० जना, रामेछापमा ३५ वटा सवारी दुर्घटना हुँदा ९ जना, रसुुवामा ९ वटा सवारी दुर्घटना हुँदा ५ जना र सिन्धुपाल्चोकमा ३४ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको तथ्याङ्कमा छ ।