‘बैंक ह्याक गर्छु भन्दै भाइबरमा धम्की पठाउनेको पहिचान गरेर कारबाही गर्छौं’

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार १२:२२

काठमाडौं । विभिन्न १५ वटा बैंकको सिस्टम ह्याक गर्छु भन्दै भाइबरमा धम्की पठाउने व्यक्तिको खोजी कार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

धम्की दिने ह्याकरको पहिचानको लागि आइटी डिपार्टका कर्मचारी खटाइएको र आवश्यक परेमा प्रहरीको पनि सहयोग लिइने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

भाइबरमा कसैले फेक धम्की पठाएको र त्यसको पहिचान चाँडै हुने भन्दै सहप्रवक्ता पोखरेलले चिन्तित नहुन सबै बैंकका सेवाग्राहीलाई अनुरोध गरेका छन् ।

भाइबरमा आएको मेसेजमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की थियो ।

पोखरेलले धम्की पठाउनेलाई पहिचान गरेर कारबाही गरिने बताए ।