यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवन उद्घाटन

तु खबर संवाददाता
२०७८ श्रावण ६,बुधबार १८:४२
भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ सिमलटारमा निर्मित उक्त भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

बागमती प्रदेश सरकारको २ करोड ४४ लाख १७ हजार लागतमा शिवालय बिल्डर्स प्रालि नामक निर्माण व्यवसायी कम्पनीले निर्माण सम्पन्न गरेको हो ।

१९ वटा कोठासहितको उक्त भवन ठेक्का सम्झौता भएको ९ महिनामा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार स्थापना भएदेखि भवन निर्माणको काम यो नै पहिलो भएकोमा खुशी व्यक्त गरे । उनले निर्माण व्यवसायी कम्पनीले तोकिएको समयभित्र आफ्नो जिम्मेवारी पुरा नगर्दा सरकारले अपजस खेप्दै आउनुपरेको दुःखेसो गरे ।

‘यहाँ धेरै ठेकेदारहरुले पूर्वाधार निर्माणको काम अलपत्र पार्ने गरेका छन् । हामीले योजना बनाएकै छौँ । निर्माणको लागि ठेक्का सम्झौता गरेकै छौं । उनीहरु निर्माणको काम अलपत्र पारेर वेपत्ता हुन्छन् अनि जनताले सरकारले कामै गरेन भन्दै हामीमाथि नै आक्रोश पोख्ने गरेका छन् ।’ उनले भने ।

उनले सरकारको काम नीति निर्माण गर्ने, योजना बनाउने भएपनि ती योजनाको कार्यान्वयन गर्ने जिम्मा कर्मचारी, निर्माण व्यवसायी र सरोकारवाला निकायको भएको बताए ।

उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ र १२ जोड्ने पुल शिलान्यास गरेको ७/८ महिनामै करिब ६० प्रतिशत काम सम्पन्न भएको भन्दै ठेकेदार कम्पनीले त्यसबाट सिक्नुपर्ने बताए ।

यता, हेटौंडा ९ र १३ जोड्ने कुखरेनी खोलाको पुल विगत ८ बर्षदेखि अलपत्र अवस्थामा छाड्ने ठेकेदारका कारण प्रदेश सरकार गम्भीर समस्यामा पर्दै आएको उनको दुःखेसो छ ।

त्यस्तै प्रदेशसभा सचिवालयको सभाहल निर्माण सुरु गरेको बर्षदिन बितिसक्दा ठेकेदार कम्पनीकै कारण जगसमेत उठाउन नसकिएको उनको भनाई छ ।

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले डोरमणि पौडेल नेतृत्वको सरकारले ५ बर्षमा एक सय वटा पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४५ वटा उद्घाटन भइसकेको र बाँकी पनि उद्घाटनको तयारीमा रहेको बताए ।

उनले मुलुक सुरुङ युगमा प्रवेश गरेको भन्दै पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको कामले यही सरकारकै पालामा पूर्णता पाउने र चुरियामाई सुरुङलाई अध्ययन केन्द्रको रुपमा स्थापना गरिने बताए ।

प्रदेश सरकारले आफैंले बनाएको भवन यातायात पूर्वाधार निर्देशनालयको रहेको भन्दै अबको डेढ बर्षमा अन्य कार्यालयको पनि आफ्नै भवन उद्घाटन गरिने आश्वासन दिए ।

निर्देशनालयका प्रमुख सहदेव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्याक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल लगायतको उपस्थिति रहेको थियो ।