बाढीपहिरोका कारण बागमतीमा २५ जनाको मृत्यु, कहाँ कति ?
मकवानपुर । बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा असार महिनामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ ।
गत एक महिनाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा वर्षातका कारण आएको बाढीपहिरोमा परेर २५ जनाको मृत्यु भएको हो ।
बाढी पहिरोमा परेर सिन्धुपाल्चोकमा ५ जना, धादिङमा ५ जना, चितवन र सिन्धुलीमा ४/४ जना, काभ्रेमा ३ जना, रामेछाप र मकवानपुरमा २/२ जनाको मृत्यु भएको हो ।
यस्तै, यस अवधिमा बाढी, पहिरोको कारण १३ जना मानिस घाइते भएका छन् भने २७ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ।
बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लाका १ हजार ५४ घरधुरी प्रभावित भएका छन्। प्रदेशका विभिन्न जिल्लाहरुमा २०७७ सालको यही अवधिमा बाढी र पहिरोबाट ३ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । बाढी तथा पहिरोमा परि बेपत्ता हुनेको संख्या २० जना रहेको थियो।
गत वर्षको तुलनामा यस वर्ष बाढी पहिरोका कारण ९३ प्रतिशत क्षति भएको देखिन्छ । सुरुवाती चरणमै मनसुनगत वर्षको भन्दा सक्रिय भएका कारण यो वर्ष क्षति बढि भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
