मेरो अनुभवमा रेडियो पत्रकारिता

शिव चौलागाईं
२०७८ श्रावण ५,मंगलवार १७:४६

रेडियो पत्रकारिताको अनुभव सुनाउन ठूलो अनुभव छैन । अनुभवी भएकाले आफ्ना अनुभव सुनाइहालौं भन्ने लागेको पनि होइन । रेडियो कर्ममा लागिरहँदा, रेडियोमा पत्रकारिता गरिरहँदाका आफ्ना विगतका भोगाई अनि अहिलेको अनुभूती चाँही अवसर पाउँदा बाँडौं भन्ने लाग्दो रहेछ । उमेर त तीसमा हिड्दै हो, करिब एक दशक रेडियो पत्रकारितामा रमाइँदाको पलहरु बाँड्ने अवसर पाउँदा सदुपयोग गरौं भन्ने लाग्दो रहेछ । बालापन, स्कुले जीवनमा खुब रेडियो सुनेकाले पनि रेडियोमा काम गर्ने सोच पलाएको हो । अतिरिक्त बाल क्रियाकलापमा भाग लिन खुब रुची लाग्थ्यो ।

म पढ्ने विद्यालय आमभन्ज्याङको जनक माविमा गठित बालक्लवको अध्यक्ष भएर नेतृत्व विकास गर्ने तथा विभिन्न सामाजिक काममा लाग्ने अवसर पाएको थिए । बालक्लवले मासिक रुपमा बालभित्ते पत्रिका प्रकाशन गथ्र्यो । भित्तेपत्रिकामा विद्यालय अनि गाउँकै सूचना, समाचार लेख्ने गथ्र्यौ । पत्रिकाको सम्पादक पनि आफैं भएकाले के के हालेर भर्ने भन्ने आफैंले विचार गरिन्थ्यो । मिडियामा काम गर्ने, पत्रकार बन्ने हुटहुटी भित्रभित्रै पलाउथ्यो । मेरो घर परिवारका कोहीले पत्रकारितामा लाग्नुपर्छ भनेका होइनन् अनि यसमा लागेर मनग्ये पैसा कमाइन्छ भनेर पनि म लागेको होइन । यो केबल अनायसै रुची जाग्दो रहेछ । सानोमा रेडियो सुन्दै गर्दा यहाँ कसरी मान्छे अटेका होलान् भन्ने जिज्ञासा पलाउँथ्यो । आफूभन्दा अलि जान्ने सुन्नेहरुले पनि त्यहाँभित्र साना–साना मान्छे हुन्छन् अनि बोल्छन् भन्थे । रेडियो सेटभित्र पनि मान्छे अटेका छन् । उनीहरु बोल्छन् । रेडियोको प्रशारण बन्द भएका बेला उनीहरुलाई भोक लागेर खाना खानका लागि गएका होलान् भन्ने लाग्थ्यो सानो बेलामा, जतिखेर म एकदिन रेडियोमा बोल्ने मान्छे हुन्छु भन्ने त कल्पना पनि थिएन मलाई ।

समयक्रमले कहिलेकाँही सानो बेलाका सोच, चाहाना, सपना यतिकै पूरा हुँदा रहेछन् भन्ने लाग्छ अहिले । बालक्लवमा हुँदै गर्दा अस्मिता नेपाल नामक गैर सरकारी संस्थाले रेडियो पत्रिका सम्बन्धि तालिम प्रदान गर्यो। बालक्लवलाई एउटा रेडियो सेट प्रदान गर्यो । अस्मिताले ‘बालआवाज’ नामक रेडियो कार्यक्रम उत्पादन गरी प्रशारणको व्यवस्था मिलायो । त्यसमा कार्यक्रम प्रस्तोताका रुपमा अवसर पाइयो । मोफसलकै पहिलो एफएम मनकामना एफ्एम् ९२.९ मेगाहर्ज, हेटौंडाबाट रेकर्ड गरेको हाम्रो ‘बाल आवाज’ प्रशारण हुँदा खुशीका सिमा रहेनन् ।

रेडियोमा कार्यक्रम रेकर्डमा लागि पुग्दा स्रोताहरुले पठाएका चिठ्ठीपत्र देखेर अचम्म लाग्थ्यो । बोराका बोरा चिठ्ठी देखिन्थे रेडियोको कार्यालयमा । स्रोताहरु कति धेरै, कार्यक्रम पनि कति राम्रा । एउटा सुनेपछि अर्को सुनिरहँ लाग्ने रेडियो कार्यक्रहरु । केही बाल कार्यक्रम, केही साहित्यिक, केही मनोरन्जन, केही गीत–सङ्गीतका कार्यक्रम । मानिसहरुमा रेडियोप्रति कति क्रेज हुने त्यो बेला । पन्ध्र–सोह्र वर्ष अगाडीको रेडियोका तीन दिन सम्झिँदा अनौठो लाग्छ । रेडियोका कार्यक्रम प्रस्तोता उत्तिक्कै लोकप्रिय हुने, स्रोताहरुले माया गर्ने, चिठीसंगै कोसेली, पैसा पठाउने त्यो बेला । म भन्दा अघिल्लो पुस्ताले रेडियोमा बिताएका ति सुनौला दिन, सम्मान सम्झँदा डाहा नै लाग्थ्यो । सात–आठ कक्षा पढिरहेको किशोरको मनमा रेडियोमा काम गर्ने हुन्छु, सबैलाई आवाज सुनाउँछु भन्ने कल्पना नआउने कुरै भएन ।

एसएलसी दिएपछि रेडियोमा काम गर्नुपर्छ, पत्रकारिता गर्नुपर्छ भन्ने सोच बनाएको थिए । सोचेजस्तै पनि भयो । एसएलसी पास भइयो । आम सन्चार तथा पत्रकारिता पढ्दै काम गर्ने अवसर पाइयो । साप्ताहिक, दैनिक पत्रिका हुँदै रेडियोमा काम गर्ने अवसर पाइयो । पैसा कमाउने भन्दा पनि रहर पूरा गर्नका लागि हेटौंडा एफएफ्बाट रेडियो यात्रामा आरम्भ गर्ने अवसर मिल्यो । पत्रकारिता गर्ने रहर भएकाले संवाददाताका रुपमा काम गरियो । न्यूज भन्ने मान्छे खाली भएपछि न्यूज भन्ने अवसर पाइयो । सिक्दै, रेडियोमा न्यूज भनियो । अहिले पनि सिक्दैछु । कतिपय कुराहरु सिकिरहेकै हुन्छु । हुन त जीवन नै सिकाई हो भनिन्छ, यसैले पनि सिक्न छाडिन्न । सन्चारकर्ममा बिताएका चौध–पन्ध्र वर्ष मध्ये रेडियोमा दशक होला अरु पत्रिकामा बिताइयो । बिचमा आंशिक सन्चारकर्ममा रही गैर सरकारी संस्थाको परियोजनामा जागिरे पनि भइयो । तर जहाँ रहँदा पनि, जे जस्तो काम गर्दा पनि, बढी नै तलब खाँदा पनि रेडियोमा काम गरिरहे जस्तो, फिल्डमा पुगेर रिर्पोट बनाइरहे जस्तो आनन्द, आत्मसन्तुष्टि नहुने रहेछ ।

यसैले त बिचमा वैदेशिक रोजगारीमा जानका लागि लागिसकेको भीसा समेत रद्घ गरी देशमै बसें ।

 

जतिसुकै सूचना प्रविधिको विकास भएपनि रेडियोको अस्तित्व जहिल्यै रहन्छ भन्ने तर्क पनि सुन्छु । हुन पनि हो विनासकारी भूकम्पका बेला प्रभावकारी सूचना र भरपर्दो खबरको सारथी त रेडियो नै बने । अहिले पनि गाउँघर, दुर दराजमा त रेडियो नै हो सूचना पुर्याउने । पत्रकारिता पढ्दै गर्दा रेडियोको विशेषतमा पढिन्थ्यो,– ‘पढ्न नसक्ने निरक्षरलाई रेडियो प्रभावकारी ।’ हो, पढ्न नसक्नेका लागि रेडियो सुने पुग्छ । श्रवण क्षमता भएकाले रेडियो सुन्दै अरु काम पनि गर्नसक्ने भएकाले रेडियो प्रभावकारी र लोकप्रिय सन्चारमाध्यमको रुपमा नेपाली गाउँ समाजमा रुचाइए ।

 

 

आफूलाई जानेको, काम गर्न पनि अरुभन्दा अलि सहज लाग्ने, आत्मसन्तुष्टि पनि मिल्ने काम यही पत्रकारिता अनि अझ रेडियो पत्रकारिता । मेरो दाई पुस्ताहरुले रेडियोमा काम गर्दाको अनुभव, उहाँहरुले पाउनुहुने सम्मान, उहाँहरुलाई मिलेको खुशी नै त मैले सङ्गाल्न सकिन । एउटा त रेडियोप्रतिको सुरुवाती विछट्टै प्रकारको क्रेज अब घट्दो क्रममा थियो । अर्को त रेडियो खुल्ने क्रम बढिरहेका थिए । सानो शहरमा धेरै रेडियो स्थापना हुँदा रोजगारीका अवसर सिर्जना भए,स्रोतालाई छानी–छानी रेडियो सुन्ने मौका मिल्यो ।

कुन रेडियोमा कुन कार्यक्रम सुन्ने, कुन रेडियोमा सहभागी हुने भन्ने भन्ने रोजाई अनुसार हुनथाल्यो । यो अवसरसंगै रेडियोप्रति मानिसहरुको रुची घट्न थाल्यो । रेडियोमै काम गरिरहेको मैले रेडियोका स्रोता घटे, रेडियोको भविष्य सङ्कटमा छ भनेर आफैं निराश हुने कुरा गर्न खोजेको होइन । तर, विगतमा रेडियोमा जे सुनेर, जे देखेर अनि आफैंले जे भागेर आइयो अहिले धेरै कुरा परिवर्तन भएका छन् । रेडियो सेट किनी किनी सुन्नेहरुलाई आजभोलि मोबाइलमै एयर फोन लाएर, नलाएर सुन्ने सुविधा छ के पहिले जतिकै क्रेज होलात मानिसहरुमा ? बिजुली नपुगेको ठाउँमा ब्याट्री हालेर रेडियो सुन्नेहरु आजभोलि टिभी, युट्वमा आफ्ना रुचीका भिडियो हेर्लान् कि मोबाइलमा रेडियो नै सुन्न रुचाउँछन् होला ? मलाई यस्ता जिज्ञासा बेला बेलामा मनमा आउँछ । यी जिज्ञासाका जवाफ आफैंसंग छ पनि फेरि पनि आफूले गरेको कर्मप्रति भरोसा, विश्वास, सम्मान जागा हुन्छ अनि फेरि यही रेडियो पत्रकारितामा भविष्य देख्छु ।

अहिले रेडियो पत्रकारिता, रेडियो कर्ममा पनि परिर्वन हुदै गइरहेको अनुभव गरेको छु । एफएम व्यान्ड, मेगाहर्ज लगाएर रेडियो सुन्ने होइन कि अब त फेसबुकमा रेडियो लाइभ सुन्न पनि थालिएको छ । यसलाई सूचना सन्जालको विकाससंगै सन्चारमाध्यमको फड्को भन्ने कि सन्चार उद्यम नै सङ्कटमा पर्न थालेको भनेर बुझ्ने ? रेडियोमा समाचार सुन्नलाई मेगाहर्ज कति भनेर सोध्नै परेन, फेशबुक लाइभ हेर्ने कि रेडियोको वेभसाइटमा गएर सुन्ने भन्नेमा छान्ने सुविधा आयो । यो रोजी र छाडीको सुविधाले रेडियोको विकास भएको कि सूचना प्रविधीको अरु विकासले यी माध्यमलाई विस्थापित गर्न थालेको ? गर्नुपर्ने के हो ? हुनुपर्ने के हो ? रेडियोको भविष्य अब कतातिर जाला ? कस्तो होला सायद मेरो मनमा आउने यी यस्ता जिज्ञासा अन्य धेरै अग्रज, विद्वानहरुमा पनि आउँदो होला । जतिसुकै सूचना प्रविधीको विकास भएपनि रेडियोको अस्तित्व जहिल्यै रहन्छ भन्ने तर्क पनि सुन्छु । हुन पनि हो विनासकारी भूकम्पका बेला प्रभावकारी सूचना र भरपर्दो खबरको सारथी त रेडियो नै बने । अहिले पनि गाउँघर, दुर दराजमा त रेडियो नै हो सूचना पु¥याउँने । पत्रकारिता पढ्दै गर्दा रेडियोको विशेषतमा पढिन्थ्यो,– ‘पढ्न नसक्ने निरक्षरलाई रेडियो प्रभावकारी ।’ हो, पढ्न नसक्नेका लागि रेडियो सुने पुग्छ । श्रवण क्षमता भएकाले रेडियो सुन्दै अरु काम पनि गर्नसक्ने भएकाले रेडियो प्रभावकारी र लोकप्रिय सन्चारमाध्यमको रुपमा नेपाली गाउँ समाजमा रुचाइए । तर अब विगतमा झैं ह्वारह्वारी चिठ्ठी पत्र रेडियोमा आउँदैनन् । फोन इन कार्यक्रममा फोन पनि कमै आउँन थालेका छन् । सबै जसो रेडियोमा फोन गर्ने कलर प्राय  उही भइरहेका हुन्छन् । जनशक्ति कम, रेडियो सङ्ख्या धेरै हुनु, मानिसका रुची अनुसारका कन्टेन्ट नहुनु, स्रोताका विकल्पका अनेक बाटो हुनु, इन्टरनेटको विकास हुनु जस्ता विविध कारण रेडियोलाई जुन प्रकारले सशक्त बनाएर लैजानुपर्ने हो त्यो हुन सकिरहेको छैन ।

विगतमा गाउँ ठाउँमा सूचना, खबर टिपाउन रेडियोको फोन अथवा रिर्पोटरको मोबाइलमा यति घन्टी बज्ने गथ्र्यो, अहिले फेशबुकमा नोटिफिकेसन आएपछि त्यो सूचनावालालाई फलो गर्दै समाचार बनाउँन थाल्छौं । अझ तत्काल भ्याइन भने त्यो पनि गरिदैन, केहीबेरमै अनलाइन न्यूज पोर्टलबाट कपी पेस्ट गरी रेडियोका लागि बुलेटिन तयार पारिहाल्छौं । रेडियो समाचार हरेक घन्टामा, रिर्पोटर छैनन्, नयाँ नयाँ ताजा समाचार दिनुछ, स्थानीय अनि राष्ट्रिय सबै खालका समाचार स्रोतालाई सुनाउँनु छ भन्ने साचाई सहित न्यूज रुपमा छिरिएको छ, समाचारमा कमी हुनु भएन, सकभर कुनै समाचार छुट्नु भएन । कति भ्याई–नभ्याई भएको छ आजभोलि हामीलाई । रेडियोमा प्रस्तोता फरक, रिर्पोटर फरक तर जुन रेडियोमा उही समाचार । कहिलेकाँही यस्तो लाग्छ, यदि सबै अनलाइन न्यूज पोर्टल बन्द हुनेथियो होला त रेडियोका समाचार बुलेटिन के हुन्थे ? कति समयका हुन्थे होला ? जिल्लाका अनि राष्ट्रिय स्तरका कति समाचार आउथे होला ? हरेक घन्टा–घन्टा अझ आधा –आधा घन्टामा समाचार आउँथ्यो होला कि आउँदैन थियो होला ? कि त विहान र बेलुका गरी जम्मा दुई वटा न्यूज बुलेटिन दिन्थे कि रेडियोले ? यदि इन्टरनेट, अनलाइन नहुँदो हो त रेडियोमा हामी एक घन्टाको बुलेटिन पन्ध्र मिनेटमा कसरी तयार पार्ने थियौं होला ?
विगतमा रेडियो पत्रकारिता सुरुवात गर्दा र अहिले धेरै परिवर्तन भएका अनुभव आफैंले गरेकाले रेडियोहरुमाथि अवसर, चुनौती, जिम्मेवारी सबै बढेका छन् भन्ने लाग्छ । अवसर यस अर्थमा छन् कि अहिले पनि आम स्रोतामाझ एकै पटक सहज रुपमा पुग्न सक्ने सन्चारमाध्यम रेडियो नै हो ।

गाउँ समाज, दूर दराजमा एकै पटक सन्चार गर्ने काम रेडियोले गर्छ । गाउँ समाजका खबर, उनीहरुकै आवाज सुनाउँदा साँच्चै आफ्नै सुखदुःख बोल्ने त रेडियोले हो भन्ने अपनत्व स्रोतामा हुन्छ । विशेषरी विभिन्न आपतकालीन एवम् विपदको परिस्थितीमा सबैमाझ सूचना प्रवाह गर्ने भरपर्दो माध्यम रेडियो नै हो । अहिले स्थानीय सरकारहरु छन्, रेडियो टिकाउने, सहयोग गर्ने कार्य हुँदा रेडियो बाँच्दै त्यसमा आश्रितको रोजीरोटी सुरक्षित हुनसक्छ । विकास भएका सूचना प्रविधीले हाम्रो भविष्य, रोजगारी खोस्यो भनेर चिन्ता गर्ने भन्दा पनि ती प्रविधी अर्थात् विकासबाट रेडियोले कसरी फाइदा दिनसक्छ भनेर लागिपर्नुपर्छ । रेडियोको प्रतिष्पर्धामा अनलाइन, टिभीहरु हुन् भने ती माध्यममा झैं रुचीकर कन्टेन्ट दिन थालियो भने रेडियो सुन्ने स्रोता नबढ्ने कुरै हुदैन ।

रेडियोका लागि स्रोता बनाउनु, स्रोतालाई आफूसंग अड्याउनु र विज्ञापन पाउँदा रेडियोसम्म रेडियोको भविष्य उज्यालो भइरहन्छ । तर, रेडियो सुन्ने मान्छे नै भेटिन छाडे भने त आफ्ना लागि रेडियोमा बोल्ने अनि आफैंले सुन्ने कुुरा पनि भएन । रेडियो बाँच्यो, टिक्यो, समाजमा बिक्यो भने रेडियो पत्रकारिता पनि बाँच्छ । अनि हामी खबर सुन्दै–सुनाउँदै बाँच्नसक्छौं । तर समय अनुसार हामी सबै पक्षकाले विचार गर्नुपर्ने पक्षहरुमा समयमै ध्यान दिन सकेनौं भने नेपालमा रेडियोको कुनै बेला यस्तो लोकप्रियता थियो, रेडियोका समाचार यस्ता हुन्थे, रेडियोमा यस्ता–यस्ता कार्यक्रम आउँने तर अहिले कथाजस्तो भयो भन्ने दिन आउँनसक्छ ।

(यो सामग्री तु खबर स्मारिकाबाट साभार गरिएको हो । सं.)