मकवानपुरमा विद्युत चोरी गर्ने ६८ जनालाई जरीवाना
मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मकपानपुरमा विद्युत चोरी गर्ने ६८ जनालाई कारबाही स्वरुप जरीवाना गरेको छ ।
प्राधिकणले गत आर्थिक वर्ष २०७७/०७८ मा विद्युत हुकिङ गर्ने, मिटरबाट बाइपास गरेर चोरी ६८ जनालाई कारबाही स्वरुप जरीवाना गरेको हो ।
बिद्युत चोरी गर्नेहरु हेटौंडा उपमानगरपालिका र मकवानपुरका ग्रामिण क्षेत्रका रहेका छन् । विशेष गरी खेतमा सिंचाइ गर्नका लागि विद्युत चोरी गर्ने गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको आय शाखाका लेखापाल संजीव कार्कीका अनुसार, विद्युत चोरी गर्ने ६८ जनालाई जरीवाना गरेबापत १६ लाख ४८ हजार ७ सय १० रुपैयाँ आम्दानी भएको छ । प्राधिकरणले विद्युत चोरी गर्ने सामाग्रीसमेत बरामद गरेको छ ।
मकवानपुरमा हरेक वर्ष विद्युत चोरी नियन्त्रणको अभियाननै सञ्चालन गरेपनि यसको नियन्त्रण भने हुन सकेको छैन ।
