‘निर्देशन प्राप्त हुनासाथ मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता हुन्छ’

तु खबर संवाददाता
२०७८ श्रावण ४,सोमबार ०८:२२

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार पूर्ण रुपमा असफल सावित भइरहेकोले अबको केही दिनमा नै सरकार परिवर्तन हुने बताएका छन् ।

तु खबरसंग कुराकानी गर्दै सचेतक लामाले प्रतिगमनकारी, स्वेच्छाचारी, संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्नेलाई नेतृत्वबाट हटाइने बताए ।

‘केन्द्रमा प्रतिगमनकारी केपी ओलीविरुद्ध सबै राजनीतिक दल एकजुट भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्नुभएको छ । एमालेको माधव नेपाल पक्षको पनि महत्वपूर्ण सहयोग रह्यो । त्यसकारण अब विस्तारै प्रदेश सरकारहरु पनि परिवर्तन हुँदै जानेछ । ’उनले भने ।

उनले आफुहरु प्रदेशमा अविस्वासको प्रस्ताव दर्ता गर्न तयार रहेको र केन्द्रको निर्देशनको पर्खाइमा रहेको बताए ।

‘हामी निर्देशन पर्खिइरहेका छौँ, एमालेभित्र पनि मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारविरुद्ध आवाजहरु उठिरहेका छन् । अन्य विपक्षी दलहरु पनि सन्तुष्ट हुने आधार छैन । त्यसैले सरकार परिवर्तन हुन्छ ।’ उनले भने ।

बागमती प्रदेशमा सत्तारुढ दल नेकपा एमालेको ५६ (सभामुखसहित), प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको २३ (उपसभामुखसहित), प्रतिपक्षी दल नेपाली कांग्रेसको २२ र अन्य विपक्षी दल विवेकशील साझाको ३, राप्रपाको २, नेमकिपाको २ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

एमालेभित्रै माधव नेपाल पक्षको २२ मत रहेको छ । माधव पक्षको साथ पाए कांग्रेस र माओवादीले अन्य स–साना दलको सहयोग विना नै सरकार गठन गर्न सक्छ ।

विवेकशील साझा पार्टी भने कांग्रेसको नेतृत्वको सरकारमा सहभागि हुन तयार रहेको कांग्रेस सचेतक लामाले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*