सभामुखद्वारा प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् ।
संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् ।
उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’
यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको ऐतिहासिक फैसला गरेको भन्दै सभामुख सापकोटाले सर्वोच्च अदालतप्रति आभार प्रकट गरे ।
