महिला समुहहरुलाई फलफुलको बिरुवा वितरण
मकवानपुर । रोटरी क्लब अफ हेटौंडाले जिल्लाका गरिब, विपन्न परिवारका महिला समुहहरुलाई फलफुलका बिरुवाहरु वितरण गरेकोे छ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा मन्त्रालयसँगको सहकार्यमा फलफुलका बिरुवाहरु वितरण गर्नुका साथै वृक्षरोपणको कार्य समेत सुरुवात गरेको छ ।
फलफुलका बिरुवा वितरण तथा वृक्षरोपण कार्यक्रमका लागि बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रोटरी क्लबलाई ४ लाख रुपैयाँ बराबरको बिरुवा प्रदान गरेको रोेटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माले बताए ।
उनका अनुसार समुहमा आवद्ध महिलाहरुलाई ६–७ वटाका दरले निशुल्क एभोकाडो, कागती, लिच्ची र आँपका बिरुवाहरु वितरण गरेको हो ।
रोटरी क्लब अफ हेटौंडाले विपन्न परिवारको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले बिना धितो, बिना व्याजको ऋण लगानी गर्दै आइरहेका महिलाहरुलाई व्यावसायिक रुपमै फलफुल खेती गर्दा आर्थिक टेवा होेस् भन्ने उद्देश्यले बिरुवा वितरण थालेको हो ।
सोमबार हेटौंडा–१५, गौरीटार, हेटौंडा–१६, हटिया र हेटौंडा–१४, उत्तरपानीमा ५ सय वटा बिरुवा वितरण गरिएको छ ।
आइतबार रोेटरी क्लब अफ हेटौंडाले मनहरी गाउँपालिका–३ स्थित हाँडीखोलाका महिला समुहलाई ५ सय वटा बिरुवा वितरण गर्नुका साथै वृक्षरोपणको सुरुवात समेत गरेको थियो ।
