मकवानपुरगढीका २५ जना कृषकलाई किसान कार्ड वितरण
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका २५ जना किसानलाई शुक्रबार किसान कार्ड वितरण गरिएको छ ।
साना तथा सिमान्तकृत किसानमाझ वित्तिय पहुँचको विस्तार गर्ने उदेश्यले नेपाल बंगलादेश बैंक लिमिटेड, आर.एण्ड डि.इनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच चौपक्षीय सम्झौता भई कार्ड वितरण सुरु गरिएको हो ।
शुक्रबार ८ जना महिला र १७ जना पुरुष गरी कूल २५ जना किसानलाई उक्त कार्ड वितरण गरिएको नेपाल बंगलादेश बैंक लिमिटेड मकवानपुरगढी शाखाका प्रबन्धक बद्री बिक्रम थापाले तु खबरलाई जानकारी दिए ।
उक्त कार्डमार्फत प्रति किसान २ लाखका दरले बिना धितो सहुलियत व्याजदरको कृषि कर्जासमेत उपलब्ध गराइएको उनले बताए ।
किसान कार्ड वितरण गर्ने कार्यलाई विस्तार गरी केही समयभित्रै लाभान्वित किसानको संख्या ८ सय पुर्याउने लक्ष लिइएको समेत उनको भनाई छ ।
प्रबन्धक थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, वडा नं ३ का अध्यक्ष भागवत घिमिरे, मनकामना दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष अर्जुनप्रसाद दाहाल, बंगलादेश बैंक मकवानपुरगढी शाखाका लोन अधिकृत विकास प्रसाद लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।
तस्वीरहरु :






