सुजिता भण्डारीको हत्या कि आत्महत्या ?
चितवन । राप्ती नगरपालिका वडा नम्वर–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण स्पष्ट हुन सकेको छैन । उनले आत्महत्या गरेकी हुन् वा कसैले हत्या गरेको हो भन्नेबारे एकिन भइसकेको छैन ।
फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले उनको मृत्यु चोटपटकबाट भने नभएको बताएका छन् । पोष्ट मार्टम रिपोर्टका आधारमा उनको मृत्युको कारण स्पष्ट नभएपछि प्रहरीले भिसेरा परीक्षण गर्ने तयारी गरेको छ ।
मृत्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गरिने जानकारहरु बताउँछन् । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।
आइतबार चितवनको ब्रम्हस्थानी जंगलमा भण्डारीको शव भेटिएको थियो । उनको शव नजिकै विषको बट्टा बरामद भएको थियो । केहीले त्यही विष सेवन गरेर भण्डारीले आत्महत्या गरेको हुनसक्ने अनुमान पनि गरेका छन् । यदी उनले विष सेवन गरेकै कारण मृत्यु भएको रहेछ भने भिसेरा परिक्षणबाट थाहा लाग्ने चितवन प्रहरी बताउँछ ।
भण्डारीको शव भेटिनुपूर्व परिवारले उनको अपहरण भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो तर, उनको शव फेला परेपछि घटना थप रहस्यमय बनेको हो ।
भण्डारीको मृत्यु प्रकरणबारे सत्यतथ्य पत्ता लगाई दोषिमाथि कारबाहीको माग गर्दै दैनिकजसो चितवनमा स्थानीयहरुले प्रदर्शनसमेत गर्दै आइरहेका छन् ।
