जीप दुर्घटनामा तीन जनाको मृत्यु, ११ जना घाइते
बैतडी । बैतडीको सिगास गाउँपालिका– ३ बाट डडेलधुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही वर्षका मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेको बैतडी प्रहरीले जनाएको छ । दुर्घटनामा परी उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
त्यस्तै, सोही दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते हुनेहरुमा सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
जीपका चालक १९ वर्षीय खगेन्द्र साउद र जीप धनी ४४ वर्षीय हरिभान साउद भने फरार रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोह्र जना सवार उक्त जीप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
