पल्पसा परिसरमा ३० बेडको आइशोलेशन सेन्टर सञ्चालन गर्ने कोभिड–१९ व्यवस्थापन समितिको निर्णय
मकवानपुर । मकवानपुर उद्योग बाणिज्य संघले पल्पसा सभागृहमा रहेको आफ्नो भवनमा ३० बेडको आइशोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ ।
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको आज सोमबार बसेको बैठकले पल्पसा परिसरमा आइशोलेशन सञ्चालन गर्ने निर्णय गरेको हो ।
मकवानपुरका सीडीओ भरतमणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट संक्रमित भई होम आइशोलेशनमा बसेका संक्रमितहरुको निगरानी गरिने भएको छ । सम्बन्धित वडा समितिले होम आइशोलेशनमा बस्नेहरुको निगरानी गर्ने र होम आइशोलेशनमा बसेको नपाइएमा र जनस्वास्थ्यका मापदंडको पालना नगरेको पाइएमा संस्थागत आइशोलेशनमा पठाउने निर्णय पनि कोभिड–१९ व्यवस्थापन समितिले गरेको छ ।
त्यस्तै समितिले संक्रमितहरु बढीरहेका स्थानहरुमा पीसीआर र एन्टिजेन परीक्षको दायरा बढाउने भएको छ । आजको बैठकले स्थानीय तहहरुलाई तत्काल परीक्षणको दायर बढाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी, समितिको आजको बैठकले स्वास्थ्यकर्मी, अस्पताल, सुरक्षाकर्मी एवम् कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा लागिरहनु भएका कर्मचारीमाथि अमर्यादित र गैरकानूनी गतिबिधि नगर्न नगराउन पनि भनेको छ ।

