हेटौँडा दुर्घटना अपडेटः १८ जना घाइते, ट्रक चालकको अवस्था गम्भीर
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीमा आज ट्रक र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा १८ घाइते भएका छन् ।
बिहान काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ९१४० नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, यसअघि उक्त दुर्घटनामा परी ११ जना घाइते भनिएपनि पछि पूरा विवरणमा १८ जना घाइते भएको खुल्ल आएको हो ।
घाइतेमध्ये ट्रक चालकको अवस्थामा गम्भीर रहेको र उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब परीक्षक रिमालले बताए ।
घाइतेमध्ये बस चालक, बसका सहचालक र बसमा सवार एक जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ भने १३ जना घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
बाँकी दुई जना घाइतेको भने चुरेहिल अस्पतालमा सामान्य उपचारपश्त डिस्चार्ज भइसकेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
उक्त दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
