थाहानगरपालिकामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता
मकवाननपुर । मकवानपुरको थाहानगरपालिकाले पालिकाभित्र कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलबध गराउने भएको छ ।
पालिकाले कोभिड–१९ संक्रमितहरुको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताबापत क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने भएको थाहानगरपालिकाले जनाएको छ ।
पालिकामा कोरोनाभाइस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अभियानलाई सहज तुल्याउन सर्वदलीय समिति गठन गरिएको छ । सोमबार थाहानगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्य सर्वसदीय समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त समितिमा पालुङ जेसिज, पालुङ लाईन्स, रोटरी क्लब र स्थानीय राजनीति दलका प्रतिनिधिहरु सदस्य रहेका छन् ।
त्यस्तै, थाहा नगरपालिकाको वडा नम्वर १ देखि १२ सम्म कोभिड–१९ संक्रमितको पहिचान र जनचेतना संचालन गर्न आज अपराह्नदेखि घरदैलो अभियान संचालन गर्ने भएको थाहानगरपालिकाका प्रमुख विष्ट बताए ।
साथै थाहानगरपालिकाको १२ वटै वडामा कोभिड –१९ संक्रमित बिरामीको पहिचान गर्नुको साथै प्रत्येक घरदैलोमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा सर्वसदीय समिति गठन गर्ने र कोभिड–१९ का बिरामीहरुको तथ्याङ्क दैनिक संचारमाध्यममा सार्वजनिक गर्ने पनि तयारी भइरहेको प्रमुख विष्टले जानकारी दिए ।
थाहानगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या ५० जना पुगेको छ । तीमध्ये एक जना कोरोना संक्रमितलाई उपचारको लागि हेटौडा अस्पतालमा पठाइएको जनाइएको छ ।
