मकवानपुरमा निषेधाज्ञा जारी गर्नुपर्ने आवश्यकता, ४ बजे बैठक
मकवानपुर । मकवानपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ नाघेको छ ।
मकवानपुरमा शुक्रबार एकैदिन १७७ जनामा कोरोना संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या ५ सय नाघेको हो ।
हाल मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५२४ पुगेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै मकवानपुरमा कूल १ हजार ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा ६०२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये ७८ जना संक्रमण मुक्त भइसकेको हेटौँडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सक्रिय संक्रमितको संख्या पहाडी जिल्लामा २ सय र तराइका जिल्लामा ५ सय जना नाघेको अवस्थामा निषेधाज्ञा लगाउन निर्देशन जारी गरेको छ ।
सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले बस्तुस्थिति बुझेर निषेधाज्ञा जारी गर्न सक्ने छन् ।
शनिबार दिउँसो ४ बजेको लागि जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
बैठकमा निषेधाज्ञा जारी गर्ने वा नगर्ने भन्ने विषयमा आवश्यक छलफल हुने जनाइएको छ ।
आजको बैठकले मकवानपुरमा निषेधाज्ञा जारी गर्न सक्ने संभावना उच्च देखिएको स्रोतले दावी गरेको छ ।
