आर्थिक मामिला मन्त्रालयद्वारा बजेट निर्माणको तयारी तीब्र

मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा योजना कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको छ ।
नीति योजना तथा बजेट ल्याउने तयारीमा मन्त्रालयले तीव्रताका साथ काम अघि बढाएको सचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन् ।
चालु आव ०७७/०७८ मा अनुमानित ५१ अर्ब ४२ करोडको बजेट सार्वजनिक गरेको प्रदेश सरकारले आगामी आवको लागि पनि चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
नीति योजना र बजेट निर्माणका लागि प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलको अध्यक्षतामा बनेको प्रदेश स्रोत व्यवस्थापन समितिमा आवश्यक छलफल गरिसकिएको र मन्त्रालय, स्थानीय तह तथा सम्बन्धित कार्यालयहरुलाई अध्ययनका लागि बजेटको सिलिङ पठाइसकिएको उनले बताए ।
नीति योजना र बजेट तयार पार्दा प्रदेशका ११९ वटै स्थानीय तह र ६३ निर्वाचन क्षेत्रसँग समन्वय गरेर, प्राप्त सुझावका आधारमा कुन क्षेत्रलाई कति प्राथमिकता दिइने भन्ने विषय निक्र्यौल गरिने उनको भनाई छ ।
बैशाख २० गतेभित्रमा सम्बन्धित मन्त्रालय र स्थानीय तहबाट आवश्यक सुझाव प्राप्त भइसक्ने र त्यसपश्चात नीति योजना तथा बजेटको कामलाई थप तीब्रता दिइने उनको भनाई छ ।
आगामी आवको बजेट नयाँ योजना सुरु गर्ने भन्दा पनि गत आव र चालु आवमा सुरु भएका विभिन्न योजनालाई पूर्णता प्रदान गर्न केन्द्रीत रहने उनको भनाई छ ।
टुक्रे योजना धेरै
चालु आर्थिक वर्ष ०७७/७८ मा टुक्रे योजनाको काम धेरै भएको सचिव घिमिरे स्वीकार गर्छन् । टुक्रे योजनाको काम धेरै भएको भएपनि त्यसको प्रभावकारिता भने न्यून देखिएको छ ।
चालु आर्थिक वर्षको नीति योजना तथा बजेटमा ठूलो र राष्ट्रिय गौरवका आयोजना भन्दा टुक्रे योजनालाई बढी प्राथमिकता दिइएको देखिन्छ । प्रदेशका मन्त्री, कर्मचारी, राजनीतिक दल वा मन्त्रालय निकटका व्यक्तिलाई काम दिइने उदेश्यले यस्ता योजना ल्याउँदा ती योजनाको प्रभावकारिता भने न्यून रहन्छ ।
आगामी वर्षको बजेटमा भने टुक्रे योजनालाई प्राथमिकता नदिइने सचिव घिमिरे बताएँछन् । सबै क्षेत्र लाभान्वित हुने गरी ठूलो आकारको बजेटलाई प्राथमिकता दिइने र अघिल्लो आर्थिक वर्षमा सुरुवात भएका योजनालाई पूर्णता दिइने गरी बजेट ल्याउने तयारी भइरहेको उनी बताउँछन् ।
शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, युवा लक्षित रोजगारका कार्यक्रम, पशु तथा कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकास, विभिन्न व्यवसायिक तथा शिपमुलक तालिमलगायतका क्षेत्रलाई प्राथमिकता दिनुको साथै युवालाई व्यवसायिक उत्पादनसँग जोड्न अनुदान तथा सहुलियत ब्याजदरमा ऋण लगानीको कार्यक्रम ल्याइसकिएको उनले बताए ।
कूल बजेटको ३३ प्रतिशत मात्रै खर्च
चालु आर्थिक वर्षको दास्रो चौमासिक सम्ममा बागमती प्रदेश सरकारको विभिन्न मन्त्रालयले विनियोजित बजेटको ३३ प्रतिशत रकम मात्रै खर्च गरेको छ । प्रदेश सरकारले यस अघि ल्याएका कतिपय योजनाहरु कार्यान्वयनमा आउन नसकेका कारण बजेट खर्च कम भएको सचिव घिमिरे बताउँछन् ।
अबको लक्ष्य बजेट खर्च वृद्धि गर्नेतर्फ रहेको उनले बताए । आवश्यक पूर्वाधारका काम सम्पन्न नगरी नीति तथा कार्यक्रममा योजनाहरु समावेश गरी बजेट विनियोजन गर्दा बजेट कार्यान्वयनमा समस्या देखिएको उनको भनाई छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको युवा उत्पादन सम्बन्धी सशर्त अनुदानका कार्यक्रमहरुलाई यस वर्ष पनि प्राथमिकतामा राखिने जनाइएको छ । उत्पानमा आधारित अनुदानका कार्यक्रमलाई थप विस्तार गरी बजेटको पूर्ण कार्यान्वयनतर्फ मन्त्रालयले काम गरी रहेको उनले बताए ।
प्रदेश सरकारले आगामी असार १ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ । त्यसको केही दिन अघि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नुपर्ने छ ।