बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडालाई
मकवानपुर । अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ ।
सातौं तथा अन्तिम चरणको खेलमा २.५–१.५ अङ्कले पराजित गरी कूल १३ अङ्कसहित हेटौँडाले उपाधि हात पारेको हो ।
उपाधिसँगै हेटौँडाले ट्रफी र नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । समान ११ अंक प्राप्त गरे पनि म्याच प्वाइन्टका आधारमा ललितपुर महानगरपालिका दोस्रो र काठमाडौँ महानगरपालिका तेस्रो भएको छ ।
ललितपुरले ट्रफीसहित नगद इक लाख र काठमाडौंले ट्रफीसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
स्वसि लिग ७ राउण्डको खेल भएको प्रतियोगितामा व्यक्तिगत प्रदर्शनमा कोर्ड नम्बर १ मा टोखा नगरपालिकाका मिलन लामा, बोर्ड नम्बर २ मा भक्तपुरका निकेन कुसाथा, बोर्ड नम्बर ३ मा दमक नगरपालिकाका चन्द्रप्रकाश नेपाल, बोर्ड नम्बर ४ मा हेटौंडाका रुपेश जैसवाल र बोर्ड नम्बर ५ मा भक्तपुरका केशव मानन्धर उत्कृष्ट घोषित भए । उनीहरुले जनही नगद रु पाँच हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा देशभरका २२ नगरपालिकाका खेलाडी सहभागी भएका थिए ।
