मुनु सिग्देललाई पार्टीमा स्वागत गर्न तयार छौँ तर अध्यक्षको रुपमा होइन –एकलाल श्रेष्ठ

तु खबर संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार ०९:२८

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्ष आफु भएको एकलाल श्रेष्ठले दावी गरेका छन् ।

नेकपा एमाले पूर्ववत् रुपमा फर्किएपनि जिल्ला कमिटी पूर्ववत् नरहने श्रेष्ठको तर्क छ ।

‘सर्वोच्च अदालतले नेकपा एमालेलाई पूर्ववत् रुपमा फर्काइदिएको छ, तर जिल्ला कमिटी पूर्ववत् रुपमा फर्कँदैन । जिल्ला कमिटीमा को कहाँ रहने भन्ने कुरा पार्टीको आन्तरिक छलफल र सहमतिबाट टुंगो लाग्ने कुरा हो ।’ उनले तु खबरसँग भने ।

आफुलाई पार्टीले जिम्मेवार, इमान्दार र जवाफदेही भएकै कारण मकवानपुरको नेतृत्व सुम्पिएको उनको भनाई छ ।

तत्कालिन नेकपा एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देल हुनुहुन्थ्यो, अदालतले नेकपा एमाले ब्यूँताइदिएपछि उहाँ नै अध्यक्ष हुनुपर्ने होइन र ? भन्ने प्रश्नमा श्रेष्ठले तत्कालिन अध्यक्ष मुनु सिग्देल र आफनो सचिव (सचिव) पदको कार्यकाल सक्किसकेको बताए ।

‘२०७२ साल मंसिर १२ गते मुनु जि अध्यक्ष र म सचिव भएका थियौँ । हाम्रो पार्टीमा जिल्ला कमिटीको कार्यकाल ३ बर्ष रहने प्रावधान छ । अहिले ५ बर्ष भइसक्यो । त्यसैले तत्कालिन नेतृत्वलाई नै मान्यता दिनुपर्छ भन्ने छैन ।’ उनले भने ।

कार्यकाल सक्किएपछि तत्कालिन अध्यक्षले म नै फेरि पनि अध्यक्ष हुँ भन्न मिल्दैन । पार्टीले अहिले मकवानपुरको नेतृत्वको जिम्मेवारी मलाई दिएको छ । उनले थपे ।

अदालतको फैसलापछि हेटौँडा ५ पुष्पलाल पार्कस्थित भवनमा नेकपा मकवानपुरको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको र अध्यक्षको हैसिएतमा पार्टीको नियमित काम कारबाहीसमेत संचालन गरिरहेको उनले बताए ।

आफ्नो नेतृत्वमा जिल्ला कमिटीको पुनः संरचना, पार्टी विस्तार, पार्टीका सदस्य तथा आम मकवानपुरवासीको हित एवम् पार्टीको केन्द्रीय महाधिवेशनका लागि पहल गर्ने योजना रहेको उनले सुनाए ।

११२ जना सदस्य रहेको जिल्ला कमिटीलाई विस्तार गरेर ३ सय भन्दा बढीको बनाइएको उनले बताए ।

पार्टी कार्यालय सबै एमाले कार्यकर्ताको साझा भएकोले आफुले सबैलाई स्वागत गर्ने श्रेष्ठले बताए ।

आफुलाई पार्टीले अध्यक्षको जिम्मेवारी दिइसकेको र तत्कालिन जिल्ला कमिटीको नेतृत्वको कार्यकाल समाप्त भइसकेकोले अब अर्को कोही व्यक्तिले म अध्यक्ष भन्दै आएमा त्यो स्वीकार्य नहुने उनको भनाई छ ।

पार्टी कार्यालय आउने अधिकार मुनु सिग्देल जि लाई पनि छ । हामी स्वागत गर्न तयार छौँ तर अध्यक्षको रुपमा कदापी होइन । उनले भने ।

यसअघि तु खबरसँग कुराकानी गर्दै मुनु सिग्देलले पनि  नेकपा एमाले मकवानपुरको अध्यक्ष म हुँ भनेकी थिइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*