सभ्य र लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानता युक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह गरेकी छन् ।
१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित एक समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले समाजका सबै पक्षलाई आग्रह गरेकी हुन् ।
उनले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उनले भनिन्, ‘महिला अधिकार स्थापित गर्न, महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयास भएका छन्, हाम्रो देशमा संवैधानिक तथा कानूनी प्रावधान, नीति तथा कार्यक्रमसमेत निर्माण भएका छन्, यी प्रावधानको प्रभावकारी कार्यान्वयन हुँदै जाँदा महिला समानता कायम गर्न तथा विभेदको अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने नै छ ।”
राष्ट्रपति भण्डारीले त्यसका लागि राज्यका कार्यान्वयन गर्ने निकाय सकारात्मक रुपमा थप क्रियाशील बनाउनुपर्ने आवश्यकता महसुस भएको बताइन् ।
लैङ्गिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीय रुपमा बढिरहेको र शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको उनको भनाइ छ ।
