सरकारले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र विस्तार गर्ने–मन्त्री भट्ट
मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अर्थतन्त्रलाई गतिशिल र आत्मनिर्भरमुखीतर्फ उन्मुख गराउन संघीय सरकारले प्रत्येक प्रदेशमा नयाँ–नयाँ औद्योगिक क्षेत्रको विस्तार गर्न लागिएको बताएका छन् ।
शुक्रबार प्रदेशको राजधानी हेटौंडास्थित मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै मन्त्री भट्टले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी निर्याप्तमुखी उद्योगलाई आत्मनिर्भर बनाउन संघीय सरकारले प्रत्यक्ष्ेक प्रदेशमा औद्योगिक क्षेत्र विस्तार गर्न लागिएको बताएका हुन् । उनले त्यसको लागि सरकारले मौजुदा ऐन कानूनलाई परिमार्जन गरी उद्योगलाई अघि बढाउने लक्ष्यसमेत रहेको बताए ।
मन्त्री भट्टले आफ्नो पार्टीमा अहिले देखिएको विभेदलाई नेतृत्व तहले आत्मसमिक्षा गरेर पार्टीलाई एकढिक्का बनाउनुपर्ने धारणा व्यक्त गर्दै सरकारले अहिले संविधानको मर्म र कानून बमोजिम देशको दैनिक प्रशासन र आफ्नो कार्य सम्पादनको गर्न कुनै अवरोध नपुग्ने दृढता व्यक्त गरे ।
उनले प्रत्येक उद्यमी र उद्योगका व्यवसायीहरुले बाह्य देशबाट स्वदेशको लागि आपूर्ति हुने विभिन्न खाद्यान्न, निर्माण सामाग्री, लत्ताकपडा र विद्युतीय सामग्रीहरुलाई निरुत्साहित गरी स्वदेशमा नयाँ–नयाँ उद्योगहरु स्थापना गर्न सरकारले नयाँ सोच र चिन्तनको साथ गुरुयोजना ल्याउने बताए र उनले सोही अनुरुप उद्यमीहरुले पनि बाहिर निर्याप्त हुने उद्योगहरुलाई स्थापना गर्नेतर्फ आफ्नो लक्ष्य बनाउन आग्रह गरे ।
