हेटौँडास्थित मयुरधाप औद्योगिक क्षेत्रको आज शिलान्यास हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रको आज शिलान्यास हुने भएको छ ।
उक्त आद्योगिक क्षेत्रको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दिउँसो १ बजे शिलान्यास गर्ने भएको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ।
नेपाल सरकारले २०७२ चैत १ गते मयुरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो। मयुरधापको करिब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गामा संघीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रको लागि छुट्याइएको थियो। मयुरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिएको छ।
औद्योगिक क्षेत्रपरिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ। छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ। औद्योगिक क्षेत्रमा संघीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको हेटौँडा औद्योगिक क्षेत्र प्रवन्धक राजेन्द्रप्रसाद कँडेलले बताए।
उनका अनुसार उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार पूर्वाधार निर्माणका लागि सरकारले करिब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ छुट्याइ्रएको छ ।
उक्त औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष÷अप्रत्यक्ष गरी करिब २० हजारले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।
