मकवानपुरको इन्द्रसरोवरमा स्वास्थ्य शिविर
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले ५ वटा वडामा ५ दिने स्वास्थ्य शिविर संचालन गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन स्वास्थ्य शिविर संचालन गरेको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम मार्फत गाउँपालिका भित्रका ३ सय ८० जना जेष्ठ नागरिकले स्वास्थ्य लाभ लिएका छन् भने न्यानो कपडाको रुपमा ८ सय ८० जनालेलाई फइबरको सिरक प्राप्त गरेका छन् ।
गाउँपालिकाले यस आर्थिक वर्षमा गाउँपालिका भित्रका ६० वर्षदेखि ७० वर्षसम्मका जेष्ठ नागरिकहरुको बिमा शुल्क बेहोर्ने गरी स्वास्थ्य बिमा गर्ने योजना समेत गाउँसभाबाट पास गरिसकेको छ ।
नेपाल सरकारले ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आइरहँदा इन्द्रसरोवर गाउँपालिकाले भने जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै ६० वर्ष पुरा भएदेखि नै स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई अघि सारेको हो ।
