कोरोना संक्रमणबाट वडाध्यक्ष मोक्तानको मृत्यु
जनकपुर । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको मृत्यु भएको छ । संक्रमणबाट धनुषा धाम नगरपालिका ६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको मृत्यु भएको हो । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।
मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुुष्टि भएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
यता, नेकपा धनुषाका सचिव दिपक यादवले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष मोक्तानको उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको पुष्टि गरेका छन् ।
धनुषामा कोरोना संक्रमणका कारण अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ ।
