हेटौंडाका १९९ जना काँग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडाका विभिन्न दुई वडामा गरी ११९ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार काँग्रेस पार्टी कार्यालय हेटौंडामा भएको एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ र २ का ११९ जना युवा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा कांग्रेस हेटौंडा १ का वडा सभापति हरिकृष्ण महर्जन, हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, तरुण दल ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ र उपाध्यक्ष दिनेश मैनालीको समन्वयमा नेकपा, राप्रपा परित्याग गरी समाजसेवी युवाहरु अमर लामा, विनोद लामा, युगल श्रेष्ठ तथा युवराज गुरुङको नेतृत्वमा हेटौंडा १ र २ चौकीटोल, लालझाडी, चाईनाक्वाटर, जरुवाटोलका १ सय ६४ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता दिई टिका लाएर पार्टीमा स्वागत गरेका थिए ।

त्यसैगरी सोमबारै विहान हेटौंडा १ भैरवडाँडामा भएको कार्यक्रममा हेटौंडा १ भैरवडाँडा, नकौली घ्याङसिटार र लामिडाँडाका ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले नवप्रवेशीलाई स्वागत गर्दै कम्युनिष्टको झुठो आश्वासन, भ्रष्टचार लिप्त शासनब्यवस्था अब जनताले बुझिसकेकाले धेरैदिन टिक्न नसक्ने बताउँदै कांग्रेसले विधिको शासन चाहेको बताए ।
नेता बानियाँले कम्युनिष्टलाई जनताले त्रास र आश देखाएकाले प्रचुर बहुमत दिएको भएपनि ३–३ पटकसम्म बजेट ल्याउँदा पनि निमुखा, गरिब, किसान तथा गरिखाने बर्गको हितमा नसोची कसरी हुन्छ भ्रष्टाचार गर्न मात्रै उद्दत रहेको कारण जनताले कम्युनिष्ट शासन पत्तासाफ भएको हेर्न चाहेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु राजिव सुवेदी, हरि वाग्ले, खड्ग गोपाली, अमृता थापा मगर, भीमसेन महत, सुनिल दाहाल, सुनिल अधिकारी क्षेत्र नम्बर २ का संघिय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण नेताहरु राजेश भेटवाल, विकेशलाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
