आफ्नैबाट अप्ठेरोमा देउवा, पौडेल र सिटौला

पत्रपत्रिका
२०७७ आश्विन १४, बुधबार ०९:०७

काठमाडौँ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गरेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला १४ औं महाधिवेशनको संघारमा आइपुग्दा आफूनिकटबाटै अप्ठेरोमा परेका छन् । १३ औं महाधिवेशनमा एउटै प्यानलबाट महामन्त्रीको प्रत्याशी बनेकाहरू नेतात्रयका लागि सबैभन्दा चुनौती बनेर देखिएका छन् ।

साढे चार वर्षअघि सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका देउवाले विधानअनुसार संगठन सञ्चालन गर्न नसकेको भन्दै संस्थापन इतर समूह निरन्तर विरोधमा छन् । यसै क्रममा महाधिवेशनको निष्पक्षतामाथि नै प्रश्न उठाउँदै सोमबारमात्र २७ केन्द्रीय सदस्यले केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र बुझाए । त्यसमा अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसीले समेत हस्ताक्षर गरेका छन् । संस्थापन इतर पक्षमात्र होइन, देउवानिकटका केसीलगायतका नेता पनि उनको कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।

आफूनिकटका नेता एवं उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि तयारी थालेपछि देउवासामु चुनौती थपिएको छ । निधिले कम्युनिस्टसँग लड्न आगामी महाधिवेशनबाट पार्टी नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने जिकिर गर्दै आफूलाई सहयोग गर्न देउवालाई आग्रह गरेका छन् ।

देउवा र निधि दुवै नेतृत्वको प्रतिस्पर्धामा उत्रिए अहिलेकै अवस्थामा महाधिवेशनको परिणाम उनीहरूको पक्षमा नपर्ने विश्लेषण संस्थापन पक्षका नेताहरूको छ ।

त्यसो त सभापति देउवामात्र होइन, अर्का नेता पौडेल पनि उत्तिकै समस्यामा छन् । उमेर र राजनीतिक सहभागिताले समकक्षी देउवा प्रधानमन्त्री र पार्टी सभापति बने पनि ती दुवै पदमा अहिलेसम्म पुग्न नसकेका पौडेल १४ औं महाधिवेशनलाई राजनीतिक जीवनको अन्तिम मौकाका रूपमा उपयोग गर्ने प्रयासमा छन् । उमेरले ७५ काटेका उनका लागि असन्तुष्ट पक्षको एक्लो उम्मेदवार भएर मैदानमा खडा हुनु सबैभन्दा चुनौतीपूर्ण छ । १३औं महाधिवेशनमा सुशील कोइरालाको विरासतमा सभापतिको प्रत्याशी बनेका पौडेल देउवासँग पराजित भएका थिए ।

१३औं महाधिवेशनमा साथ दिएका आनन्दप्रसाद ढुंगाना, चीनकाजी श्रेष्ठ, गोविन्द भट्टराईसहितका नेताले पौडेलको साथ छाडिसकेका छन् । अझ त्योभन्दा बढी समस्या पौडेललाई आफ्नै समूहबाट महामन्त्री निर्वाचित भएका शशांक कोइरालाको सभापतिमा दाबी बनेको छ । बिपी पुत्र शशांकले सभापतिको उम्मेदवार बन्नु आफ्ना लागि राजनीतिक बाध्यता भएको र देउवालाई पराजित गर्न सक्ने प्रत्याशी आफूमात्र भएको दाबी गर्दै आएका छन् । उमेर र राजनीतिक अनुभवका दृष्टिकोणले पौडेल आफूभन्दा वरिष्ठ भए पनि देउवाबाट उनले नेतृत्व खोस्न नसक्ने शशांकको बुझाइ छ ।

त्यतिमात्र होइन, पूर्वमहामन्त्री एवं गणेशमान पुत्र प्रकाशमान सिंहले पनि सभापतिको प्रत्याशीका रूपमा आफूलाई अघि सारेका छन् । आफूले सभापति र प्रधानमन्त्रीबाहेकको जिम्मेवारी समालिसकेको अवस्थामा सभापतिमा उम्मेदवारी स्वाभाविक भएको सिंहको भनाइ छ । शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीसहितले पनि नेतृत्वका लागि आकांक्षा देखाउँदै आएका छन् । उनीहरू सबैलाई मनाउनु पौडेलका लागि निकै ठूलो चुनौती बनेको छ ।

अघिल्लोपटक एउटै प्यानलमा रहेर चुनाव लडेका देउवालाई अर्जुननरसिंह केसी, पौडेललाई शशांक कोइराला र सिटौलालाई गगन थापा चुनौती बनेर देखापरेका छन् ।

१३ औं महाधिवेशनको संघारमा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पौडेललाई अस्वीकार गर्दै त्यस बेलाका महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति पदमा उम्मेदवारी दिएका थिए । सिटौलाको उम्मेदवारीले पौडेल अप्ठेरोमा परेका थिए भने देउवालाई नेतृत्वमा पुग्न सजिलो बनाएको थियो । महाधिवेशनपछि पार्टीभित्रको तेस्रो धारका रूपमा प्रस्तुत हुँदै आएका सिटौला भूमिका आगामी महाधिवेशनमा कस्तो रहन्छ, अझै स्पष्ट छैन ।

सिटौला सभापति देउवाप्रति लचिलो देखिए पनि उनी निकटका भने पौडेलसँग निकट छन् । खासगरी १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा देउवाइतर समूहबाट आगामी महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार बन्ने रणनीतिमा छन् । देउवाबाट अबको चुनौती सामना गर्नेगरी पार्टी चल्न नसक्ने थापालगायत केन्द्रीय सदस्य प्रदीप पौडेल र उमाकान्त चौधरीको विश्लेषण छ । सिटौला समूहकै केन्द्रीय सदस्य शिव हुमागाईं भने देउवा समूहमा लागिसकेका छन् । २०७४ सालको आम निर्वाचनपछि भएको संसदीय दल निर्वाचनमा पनि देउवाको विपक्षमा उभिएका थापाले सोमबार पौडेल समूहले दर्ता गराएको विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई दबाब दिएका थिए तर सिटौला त्यसका लागि तयार देखिएनन् ।

सिटौलाको सहभागिताबिनाको हस्ताक्षरले शक्ति क्षयीकरणमात्र हुने निष्कर्षमा पुगेका थापा, पौडेलसहितका नेता केही समय प्रतीक्षा गर्ने निष्कर्षमा पुगेका छन् । महाधिवेशनअघि एकअर्कालाई उपयोग गर्ने रणनीतिमा पुग्दा सिटौला पनि दबाबमा पर्दै आएका छन् । यसरी १३औं महाधिवेशनमा सभापतिका प्रत्याशी बनेका तीनैजना नेतालाई आफ्नै निकटकाहरू १४औं महाधिवेशन चुनौती बन्ने अवस्था देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*