लागत बढ्दा औषधि उत्पादन घट्यो
सरकारले तयारी औषधि आयातमा ४ प्रतिशत कर लगाएको छ । तर, त्यही औषधि बनाउने कच्चा पदार्थ आयातमा भने १३ प्रतिशत कर लिन्छ । जसले स्वदेशमा औषधि उत्पादन लागत बढ्दै गएको छ । लागत बढेपछि व्यवसायीले औषधि उत्पादन घटाएका छन् ।
रूपन्देहीको तिलोत्तमास्थित सिद्धार्थ फर्मास्युटिकल प्रालिका प्रबन्धक गणेश पाठकले पहिलेको तुलनामा अहिले ३० देखि ४० प्रतिशत मात्रै औषधि उत्पादन गरेको बताए । ‘कोरोनाका कारण यसै पनि औषधिको कच्चा पदार्थमा २० देखि ६० प्रतिशतसम्म मूल्य बढेको छ । आयातमा उस्तै समस्या छ,’ उनले भने, ‘कर छुटसमेत नभएपछि उत्पादन घटाउन बाध्य भएका हौं ।’
नेपाल औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा शतप्रतिशत परनिर्भर छ । ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आउँछ भने २० प्रतिशत चीन तथा युरोपबाट आयात हुन्छ । औषधिमा लागत घटाउन भन्दै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत औषधिका लागि चाहिने कच्चा पदार्थ आयातमा छुटको घोषणा गरेको थियो । तर आर्थिक ऐनमा त्यो विषय परेन । जसले गर्दा अन्य शीर्षकमा आउने औषधिका लागि आवश्यक कच्चा पदार्थमा व्यवसायीले १३ प्रतिशत कर तिरिरहेको व्यवसायीहरूको गुनासो छ । यही कारण लागत बढेको र माग नभएको भन्दै ५० देखि ६० प्रतिशत उत्पादन घटाएका हुन् ।
झाडापखालाको औषधि जीवनजल, झोल भिटामिन, सलाइनलगायत बनाउन ९० प्रतिशत प्रयोग हुने डेस्ट्रोजमा १३ प्रतिशत कर रहेको औषधि उत्पादक संघको भनाइ छ । हरेक औषधिका ट्याब्लेट बनाउन ५० देखि ७० प्रतिशत प्रयोग हुने ल्याक्टोज, स्टार्जलगायतमा पनि कर लागिरहेको छ । आयुर्वेदतर्फका औषधिका कुनै पनि कच्चा पदार्थमा कर नलिने भनिए पनि जडीबुटी सार अर्थात् धूलोमा भन्सार कर छुट भएको छैन । सरकारले मिश्री देखाएर इँटाले हान्ने काम गरेको ग्रेस फर्मास्युटिकल प्रालि रूपन्देहीका प्रबन्ध निर्देशक एवं आयुर्वेद औषधि उत्पादक संघका केन्द्रीय सल्लाहकार सुरज भट्टराईले बताए । ‘सरकारले बजेटमार्फत छुट भनिएका कच्चा पदार्थमा पनि कर लिइरहेको छ,’ उनले भने । आर्थिक ऐनमा औषधिमा कर छुट समावेश नभएपछि व्यवसायी तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई भेट्न गएका थिए । उनले तत्काल संशोधन हुने बताए पनि अहिलेसम्म नभएको भट्टराईको भनाइ छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
