कोरोना संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु
मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता ५ जनाको संक्रमणबाट मृत्यु भएका छन् । संक्रमणबाट मृत्यु हुनेहरु सबै जना युएईका हुन् ।
शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा गरी संक्रमणबाट २ सय जना नेपालीको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।
हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।
