बागमती प्रदेश सरकारले विपदमा परेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले प्रदेशको ८ वटा गाउँपालिका र १ वटा नगरपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
समितिको निर्णय अनुसार धादिङको बेनिघाट रोराङ गाउपालिकालाई ३० लाख, धादिङकै सिद्दलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई २०/२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख सहयोग गर्ने भएको हो ।
यसैगरी सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउँपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिका थप १५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक गाउँपालिकालाई १५ लाख र बिगु गाउँपालिका १५ लाख सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।
