कमलादी सुन प्रकरणः छानविन गर्न समिति गठन
काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो चाँदी र आधा केजी सुन फालेर भाग्ने गाडीको विषयमा छानविन गर्न समिति गठन भएको छ ।
उक्त विषयमा छानविन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले प्रहरी अधिकारीमाथि प्रश्न उठेपछि छानविन समिति गठन गरिएको जानकारी दिए ।
समितिमा एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी छन् ।
मंगलवार प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको गाडी नरोकी भागेपछि प्रहरीले पिछा गर्दा फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो ।
ती धातुलाई नेपाल रत्न तथा आभूषण संघमा परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको पुष्टि भएको थियो ।
