भारतमा एकैदिन भेटिए ३८ हजार ९०२ संक्रमित, ५४३ जनाको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९०२ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ७७ हजार ६१८ जना पुगेको छ ।
भारतमा हालसम्म हालसम्म भएका कूल संक्रमितमध्ये २६ हजार ८१६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ ।
भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ भने तामिलनाडुमा एक लाख ६५ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दिल्लीमा पनि एक लाख २१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।
भारतमा अहिलेसम्म ६ लाख ७७ हजार ४२३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
भारतमा कोरोना भाइरसको आशंकामा अहिलेसम्म भारतमा एक करोड ३७ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको आईसीएमआरले बताएको छ ।
