यस्तो छ पर्यटन प्रर्वद्धनका लागि हेटौँडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

सन्देश थिङ
२०७७ असार ११, बिहीबार १९:०८

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

स्थानीय पर्यटनको प्रवद्र्धनमार्फत नगरको आर्थिक समृद्धिमा टेवा पुर्याउन आधुनिक सुविधायुक्त भ्यू टावरसहितको व्यापारिक कम्प्लेक्स निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने भएको उपमहानगरले जनाएको छ ।

संघीय सरकारसंगको आवश्यक समन्वय र सहकार्यमा चुरियामाई मन्दिरमा रहेको दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङको संरक्षण र सम्वद्र्धन गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।

त्यसैगरी हेटौँडा १० स्थित टिसिएनको जग्गामा टोनि हेगन पार्क निर्माण, हेटौँडा १४ स्थित ड्राइभरडाँडा भू टावर निर्माण, हेटौँडा १८ स्थित गुम्बा डाँडा पार्कको भौतिक पूर्वाधार सुधार, हेटौँडा ९ स्थित कुश्माण्ड सरोवर त्रिवेणी धामको भौतिक पूर्वाधार सुधार, हेटौँडामा होमस्टे संचालन, हेटौँडा १ मा राप्ति पार्क निर्माण, हेटौँडा १९ स्थित सहिद पार्कको भौतिक पूर्वाधार सुधार र हेटौँडा ९ स्थित बेतखोल्सी ताललाई पर्यटकीय स्थलको रुपमा निर्माण गरिने भएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गइरहेको हेटौँडा १ स्थित मनमोहन भ्यू टावर, माता पाथिभरा मन्दिर हुँदै नकौली घ्याङ्सिङ्टारबाट पून्यक्षेत्र र मुख्य पर्यकटीय गन्तव्यको रुपमा रहेको शहिद स्मारक सम्म धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्न नीजि क्षेत्र समेतको सहभागितामा कार्यक्रम संचालन गरिने गरिने भएको छ ।

त्यसैगरी हेटौँडा ४ स्थित श्रमिक पार्क र चिल्ड्रेन पार्क, हेटौँडा ६ स्थित गणेशमान बि.पी पार्क, हेटौँडा ९ स्थित मदन पार्कलगायत नगर क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय सेवाको विविधिकरण एवम् स्तरोन्नती गरिने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*