कतारबाट जून २७ मा तेश्रो उडान हुने
कतारबाट स्वदेश फर्कनका लागि तेश्रो उडानको तालिका सार्वजनिक भएको छ ।
नेपाली राजदूतावास दोहा कतारले मंगलवार सूचना जारी गर्दै जून २७ मा हुने तेश्रो उडान तालिका संगै १ सय ७४ जनाको नाम सहितको सूची सार्वजनिक गरेको हो ।
दूतावासका अनुसार जून २७ मा नेपाल एयरलाइन्सले कतारबाट दोश्रो उडान भर्ने उल्लेख छ ।
तेश्रो चरणमा स्वदेश फर्कने सूचीमा परेका व्यक्तिहरुको कतारको सम्बन्धित निकायबाट क्लिरेन्स पाएपछि मात्र उडान गर्न सक्ने दूतावासले जनाएको छ ।
हवाई टिकटका लागि नेपाल एयरलाइन्सको ट्राभल एजेन्ट फहद ट्राभल्स, जैदा टावर्स (बिक्री र आरक्षण) मा सम्पर्क गरी टिकट लिन दूतावासले भनेको छ ।
त्यस्तै यस अघि २० जूनको नेपाल एयरलाइन्सको उडानको लागि नाम प्रकाशित भइ तोकिएको उडानमा विविध कारणले जान नसकेका यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ ।
उडानमा सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा पर्ने यात्रुहरुले एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सक्ने उल्लेख छ ।
नेपाल जानका लागि १४ सय ३० कतारी रियाल हवाइ भाडा तोकिएको छ । कतार सरकारले संचालनमा ल्याएको मोवाइल एप एथेराजमा हरियो रंग अर्थात स्वस्थ भएको वार कोड अनिवार्य गरिएको छ ।
यसअघि कतारको दोहाबाट पहिलो चरणमा जून २१ मा नेपाल एयरलाइन्सको आरए २३९२ को उडान मार्फत १ सय ४९ जना नेपालीहरुलाइ हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट स्वदेश लगिएको थियो । जसमा २९ जना सुत्केरी र गर्भवती सहित ८२
जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष रहेका थिए ।
त्यस्तै दोश्रो चरणमा जून २३ मा हिमालय एयरलाइन्सको एचनाइन ५६३२ को उडानबाट मार्फत १ सय ४५ जना नेपालीहरू स्वदेश फर्केका छन । जसमा १ जना गर्भवती सहित ६१ जना महिला र ८४ जना पुरुष रहेको दूतावासले जनाएको छ ।
उनीहरुलाई विदाई गर्नका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल राजदूतावासका प्रतिनिधिहरु पुगेका थिए ।
स्वदेश फर्कनै पर्ने ५ हजार भन्दा बढीको सूची दूतावासले निकालेपछि फारम भरेर तथा विभिन्न माध्यमबाट विवरण उपलब्ध गराएकालाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा लगिएको दूतावासले जनाएपनि सूचीमा नभएका व्यक्तिहरु स्वदेश फर्केको गुनासो आएको छ ।
दूतावासले जारी गरेको नामावलीको सूचीभन्दा फरक व्यक्तिहरु पहिलो र दोश्रो उडानमा गएको गुनासो आएको हो । दूतावासको फेसबुक पेजमा प्राथमिकतामा परेर पनि जान नपाएको धेरैले गुनासो गरेका छन् । उद्दार गर्नै पर्ने र वास्तविक पीडित भन्दा पहुँचवाला र नजिकका व्यक्तिहरु लगेको दूतावासलाई आरोप छ ।
जुन १९ मा कतारबाट कतार एयरवेजले २० जना नेपालीको शव सहित आम माफी पाएका ४३ जना नेपालीलाई लिएर नेपाल गएको थियो । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।
जून २७ मा नेपाल एयरलाइन्सबाट नेपाल जाने व्यक्तिहरुको सूची यसै साथ संलग्न रहेको छ ।
