कतारबाट स्वदेश फर्कने नेपालीको नाम उडान तालिकासहित सार्वजनिक

अनिल पराजुली/कतार
२०७७ असार ४, बिहीबार १८:१७

नेपाली राजदूतावास दोहा कतारले स्वदेश फर्कने नेपालीहरुको प्रथम चरणको सूचीसहित उडान तालिका सार्वजनिक गरेको छ । बिहीवार दूतावासले सूचना जारी गर्दै नेपाल फर्कनै पर्ने व्यक्तिहरुको सूची सार्वजनिक गरेको हो ।

उडानका लागि नेपाल एयरलाइन्सको २० जुन र हिमालय एयरलाइन्सको २२ र २४ जुन २०२० का लागि आवश्यक उडान अनुमतिका लागि कतार सरकारको सम्बन्धित निकायमा पत्राचार गरिएको दूतावासले जनाएको छ । नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने उल्लेख छ ।

२० जुन २०२० को नेपाल एयरलाइन्सको उडानमा यात्रा गर्ने १ सय ७४ जना, २२ जुन २०२० को हिमालयन एयरलाइन्समा यात्रा गर्ने १ सय ७४ जना र २४ जुन २०२० को हिमालयन एयरलाइन्समा यात्रा गर्ने १ सय ७३ जनाको नामावली सहितको सूची सार्वजनिक गरिएको हो ।

त्यस्तै नेपाल एयरलाइन्सको दोस्रो उडानमा यात्रा गर्ने १ सय ८४ जना सम्भावित यात्रुहरुको नामावली समेत प्रकाशित गरिएको छ । उनीहको हकमा भने कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गरेपछि मात्र उडान अनुमति दिने उल्लेख छ ।

कतारको दोहाबाट काठमाडौं हुने पहिलो चरणको तीन उडानका लागि सम्भावित यात्रुहरुको सूची कतार सरकारको सम्वन्धित निकायबाट स्वीकृत भइसकेको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

हवाई भाडाका लागि अमेरिकी डलर ३९२ (तीनसय बयानब्बे) तोकिएको छ । हवाई टिकटका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको सम्पर्क गर्नुपर्ने आधिकारिक ट्राभल एजेन्टको सूची समेत दूतावासले प्रकाशित गरेको छ ।

त्यस्तै स्वास्थ्य परीक्षणका लागि कतारमा हाल निजी स्वास्थ्य संस्थाहरुलाई कोराना परीक्षण गर्ने अनुमति नभएकाले दोहा–काठमाण्डौ यात्रा गर्ने क्रममा कोरोना संक्रमण नभएको प्रमाणपत्र साथमा राख्न संभव नभएको भन्दै विमानस्थलमा ज्वरो मापन गरिने साथै एथेराज मोबाइल एपमा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने उल्लेख छ । यात्रा गर्ने सबैले अनिवार्य रुपमा यो एप डाउनलोड गरि हरियो अर्थात स्वस्थ्य रहेको बारकोड मोवालमा देखाउनुपर्ने छ । यो मोवाइल एप डाउनलोड गरी त्यसमा कतारी नम्बर वा भिसा नम्बर राखेर दर्ता गर्न सकिने छ ।

नेपाल फर्कने यात्रुले व्यक्तिगत विवरण फारम भरेर साथमा राख्नु पर्नेछ । यात्रा शुरु हुनु ४ घण्टा अगावै यात्रुले हवाई टिकट, राहदानी, भिसा तथा कतार आईडी लगायत व्यक्तिगत विवरण भरेको फाराम साथमा लिई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसक्नु पर्नेछ । फाराम ट्राभल एजेन्सीमा समेत प्राप्त गर्न सकिने छ ।

यसअघि कतारको दोहाबाट काठमाडौंको लागि जुन १६ नेपाल एयरलाइन्सको र १७ जुन मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले रद्द भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*